बिहानीको मिर्मिरेमा उठ्ने रहर
नहुँदा नि उठ्न पुग्छु पहिलो प्रहर
कुन उत्साह, त्यो ब्युझाउँछ हरेक उषामा
कुन उमङ्ग, त्यो पलाउँछ प्रत्यक टुसामा
दिन भरिको थकानले परेली चिम्लिन्छ
नशा नशा मांसपेशीको रेसामा पिल्सिन्छ
रातको चन्द्रमालाई अँगालो हालेर
निन्दरिमा डुब्न खोज्छ शरीर गलेर
देख्न नखोज्दा पनि सुर्यको किरण
खुल्छ मेरा आँखाहरु प्रत्यक बिहान
बिहानीको मिर्मिरेमा उठ्ने रहर
नहुँदा नि उठ्न पुग्छु पहिलो प्रहर
सोची हेर्छु को छ मलाई बाँच्न लगाउने
नियाल्दछु को छ यहाँ जिउन सघाउने
आँखा मेरा झिल्मिलिंछन् दुइटा आकृतिले
सन्तोषको आभास दिन्छ आफ्नै सन्ततिले
देखेर तिनका मुस्कान, ढक्क फुल्छ मन
त्यहि मुस्कानले लाउँछ मलाइ, ढुक्न आउँदो दिन
त्यसैले त.……
देख्न नखोज्दा पनि सुर्यको किरण
खुल्छ मेरा आँखाहरु प्रत्यक बिहान
बिहानीको मिर्मिरेमा उठ्ने रहर
नहुँदा नि उठ्न पुग्छु पहिलो प्रहर
(नोवेम्बर १८, २०१७ मा आयोजित 'नाफा-साहित्य साँझ २०७४'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment