Saturday, November 18, 2017

कविता : मातृभूमि मेरो नेपाल

~निजानन्द मल्ल~

लाग्दछ प्यारो मलाई सधैं मातृभूमि मेरो नेपाल ।
उर्वर तराई, पहाड़ हरियाली अनि सुन्दर शान्त हिमाल ।।

झर्झर झरी रहने झरना सधैं सबैको मन लोभ्याउदछ ।
सर् सर् बहने शितल बतासले तन्द्राबाट ब्युझॉउदछ ।।

निर्मल जल बग्दछन् यहॉ कति गण्डकी, कोशी र कर्णाली ।
राष्ट्रको सिमा छुट्याउदछ पुर्वमा मेची र पश्चिम महाकाली ।।


राजा जनकको यज्ञभूमि अनि सीता, भृकुटीको जन्मभूमि ।
बिश्व शान्तिको सन्देश फिजाउने जन्मे बुध्द पनि यहिं ।।

यही धरतीमा ध्यान गरि डॉकु रत्नाकर भए ऋषि बाल्मिकी ।
चार बेद रचेर यहिं, तत्वदर्शि बेद ब्यास पनि भए महर्षि ।।

सर्वोच्च शिखर बिश्वको, सगरमाथा छ अबस्थित यहिं ।
मनोरम प्राकृतिक श्रोत र सौन्दर्य, अपार छन् जहिं तहिं ।।

आर्जेका सपुत बिर-बिरंगना भीमसेन, बलभद्र पृथ्वि आदि ।
तपस्विहरुको तपोबन यो, भयो उदगमस्थल धर्म संस्कृति ।।

भरे भण्डार साहित्यका कति भानुभक्तले अनि मोति ।
सिध्दिचरण, लेखनाथ, सम र देवकोटा आदिले पनि ।।

यहिं छन् अनेकन देवस्थलहरु र पौराणिक पुण्यभूमि ।
साध्य छैनन् गरेर बयान यीनका पाशुपत् क्षेत्र एवं लुम्बिनी ।।

पुर्खाका अथक श्रम र त्यागले बनेको हो यो देश नेपाल ।
मीलेर सब जुटौंन अब बनाउन फेरि अझ यस्लाई बिशाल ।।

नभुलौ कहिले कसैले पनि अब बीर्सेर जन्मभूमिको पुकार ।
हामी सब जागे, जुटेर लागे हुनेछ सपना शहिदको साकार ।।

जय जन्मभूमि ! जय कर्मभूमि !
जय बिरभूमि ! जय स्वर्गभुमि !!
जय जय हे मातृभूमि नेपाल !!!
जय जय हे मातृभूमि नेपाल !!!
धन्यबाद !

(नोवेम्बर १८, २०१७  मा आयोजित 'नाफा-साहित्य साँझ २०७४'मा वाचन गरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment