Saturday, September 26, 2015

कविता : मानचित्रमा के हुन्थें

~पूर्ण श्रेष्ठ~

चवन्नहजार चारसय, वर्गमिलमा फैलेको ।
पूर्व पश्चिम तन्केको, चौडाइ खुम्चेको ।।
अग्ला हिमाल, पहाड अनी सम्म तराई बोकेको ।
ईंट्टा आकारमा फैलेको, मेरो बर्तमान स्वरुप ।।

जन्मँदै जुध्नु परेथ्यो, सैयौं प्रहार खपें ।
सकेनन् जित्न कसैले, वैरी साराले हारे ।।
महत्वाकाङ्क्षा झनै बढ्यो, विशाल राष्ट्र बन्ने ।
दक्षिणमा बनारस पुग्ने, अनी उत्तरमा ल्हासा चाढ्ने ।।

सन् १८१४को वर्षमा, वैरीले चौतर्फी घेर्यो ।
साम्राज्यवादी खेद्न,नेपाली अघी सर्यो ।।
रणनिती मजबुत पार्दै, फौजी योजना बनायो ।
अंग्रेजी लखेटौं भन्दै, चीनसंग सहयोग माग्यौं ।।

भारतमा जरो गाडेर, दक्षिण एसिया लुटेका ।
अंग्रेजहरु निहूँ खोज्दै, नेपाल हान्न जुटेका ।।
नेपालले प्रस्ताव राखेको, अंग्रेजलाई टाढा लखेट्ने ।
चीनले कुरै बुझेन, नेपालको प्रस्ताव मानेन ।।

भोटसंग युद्ध हुँदामा, चीनले हार खाएथ्यो ।
बादला लियो यही बेला, जुनाबेला हाम्लाई चाहियाथ्यो ।।
युध्द छिट्टै शुरु भो, सुगौलीको सन्धी भो ।
मेरो दुई-तिहाई भू-भाग, अंग्रेजको अधिन भो ।।

यदी प्रस्ताव मानेर, दिएको भए चीनले साथ ।
दक्षिण एसियाकै हुन्थ्यो, अहिले बेग्लै अनुहार ।।
भारतले गर्व गर्नेथ्यो, संधै स्वतन्त्र हूँ भन्नेथ्यो ।
मेरो मानचित्र त्यही हुन्थ्यो, विशाल स्वरुप रहीरहन्थ्यो ।।

(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)

No comments:

Post a Comment