~रोशा पोखरेल~
बिर्सिएर आफैलाई हराउन पाए
आफैसंग परिचय गराउन पाए
आनन्दीले मुटूभरि लुटुपुटु खेली
शीत लिप्थिन् निधारमा आफै पाउन पाए ।।
निलो आकाश छाना मेरो, घाँसै गुन्द्री मेरै
आकाशैको झुल्के घाम, बादल छत्री मेरै
छोपिदिए निदरीले पुग्ने थिएँ त्यहाँ
छेकिदिन्छ क्षितिजले धरतीलाई जहाँ
प्रफुल्लले छाती पिट्थ्यो अंकमाल गरी
मुटूमाझको कालो मेट्थ्यो पुग्न त्यहाँ पाए
हराएर आफैलाई भेट्टाउन पाए
आनन्दिले मुटूभरी लुटुपुटु खेली
शीत लिप्थिन् निधारमा आफै पाउन पाए ।।
टिम्टिम् गर्दै तारा जब चन्द्रमालाई हेर्छन्
जुनेलीको किरणमा लुकामारी खेल्छन्
दिनको छानो रातमा हेरी त्यसै दाङ्ग पर्छु
लाखौंं तारा माझमा आफै बिलाए झैं गर्छु
कल्पनाले झस्काउँछिन् सम्झाउँछिन् मलाई
सँधैभरी कल्पनामै डुबिरहन पाए
बिर्सिएर आफैलाई हराउन पाए
आफैसँग परिचय गराउन पाए
आनन्दीले मुटूभरी लुटुपुटु खेली
शीत् लिप्थिन् निधारमा आफै पाउन पाए ।।
(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'अन्तर्गतको
'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment