~डा. रमेश खनाल~
हे, मेरा प्रिय बन्धुहरु
हे, मेरा प्रिय मित्रहरु
आउ, मेरो हार्दिक अभिनन्दनलाई स्वीकार गर
मेरो हृदयका पुष्प गुच्छाहरुलाई साधिकार ग्रहण गर।
श्वेत हिम शिखरहरु सुर्योदयको लालिमाले स्वर्णिम बनेका छन्
अब एउटा नूतन युगको आबिर्भाव गर्नु परेको छ
कोशी, गण्डकी र कर्णाली अविराम बगेका छन्
हामी पनि एउटा अनन्त यात्राको थालनी गरौँ।
मान्छेहरु मुक्ति र स्वत्नत्रताका गीतहरु गाईरहेका छन्
हामी पनि विजयको शंख घोष गरौँ।
प्रिय, तिमी यस देशको निर्माण हौ
म तेसैको निर्वाण हूँ
तिमी यहाँको आकाश हौ
म यही धरती हूँ
तिमी कलम र कुची समाउ
म क्यान्भास बनिदिन्छु
तिमी मातृभूमिको भविष्य रेखाहरु खिच
म मेरो आहुति दिन्छु।
हाम्रा सन्ततिहरु अन्धकारको गर्तमा भासिन सक्छन
तेसैले आफ्ना पीडादायी यात्राका कथाहरु नसुनाऊँ
तिनका सुकोमल चेहराहरु क्रोधले विकृत हुन सक्छन
तेसैले दुष्कर रात्रीका पीडाहरु बिर्सिदिऊँ
उनीहरु हाम्रा घाउहरु देखेर तर्सिन सक्छन्
तेसैले जेल, नेल, हत्कडी र बन्दुकका कुराहरु पनि नगरौं ।
विचार गर, यस देशको सगरमाथा भनेको तिमी हौ
म पवित्र नेपाल भूमि हूँ
तिमी आफूलाई नझुकाउ
म आफ्नै बिभाजनको रेखा कोर्दिन।
तिमी भिमको बाहु बल र क्रोध भन्दा
युधिष्ठिरको क्षमा हौ
अर्जुनको गान्डिब भन्दा पर
कृष्ण रुपी सारथी पनि हौ
धृतराष्ट्रको पुत्र मोह को त कुरै के गर्नु
भीष्मको माता प्रतिको बचन हौ
तेसैले आऊ, आफ्नो कर्तव्यको पालना गर
सत्य र प्रकाशका लागि लड
शान्ति र समृद्दिको जगेर्ना गर।
हे यस देशका नबयौबनाहरु हो
हे मेरा प्रिय संगिनीहरु हो
तिमी द्रौपदीको खुला केश र प्रतिशोध मात्रै होइनौ
न त क्लियोपेट्रा र जोसेफिनको सौन्दर्यको सीमा नै
हेलेन र पद्मिनीको पवित्रता भन्दा पनि केहि पर
तिमी अभिमन्यूकी माता पनि हौ
कुन्ती र गान्धारीको आशिर्बाद पनि हौ
गोल्डा मायर र झांसीकी रानी पनि हौ
तेसैले आऊ, स्त्रियोचित गरिमा सहित
आफूलाई उद्भाषित गर
श्रिष्टीकी अधिष्ठात्री स्वरुप
आफ्नो अश्मिताको रक्षा गर।
भयो अब जातका कुराहरु कति गर्नु?
जन्मना जायते शुद्र, थाहा भएकै हो
पुग्यो अब नश्लका कुराहरु किन गर्नु?
रङ त बाह्य आवरण मात्रै हो
एकछिनको घाम ले नै परिवर्तन गरिदिन्छ।
त्यसैले आऊ, अलिकति हातेमालो गरौँ
धेरै विश्वासका कुरा गरौँ
थोरै भए पनि माया प्रितिका कुरा गरौँ
फेरि बिहानीका कुरा गरौँ
थुप्रै सपनाका कुरा गरौँ
अनि एउटा सुन्दर भविष्यको कुरा पनि गरौँ
जहाँ फूलहरु फुल्न सकुन्
सन्ततिहरु निर्बाध हाँस्न सकुन्।
(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'मा वाचन गरिएको अप्रतियोगी कविता)
No comments:
Post a Comment