Saturday, September 26, 2015

कविता : आयो आयो आयो

~अप्सरा गिरी भारती~

आजकाल शब्द प्रख्यात यो छ
आयो आयो आयो
जत ततै सुनिएको जो छ ।

मुख आँ गरेर नि आएकै छ
आँफै ट्वाँ परेर नि आएकै छ
स्वाँ स्वाँ गर्दै नि आएकै छ
कहीं के त कहीं के आएकै छ ।।

कहीं भुकम्प आयो
कहीं पराकम्पन आयो

कहीं राहत आयो
कहीं माग्ने भाँडो आयो ।।

फेरी बर्षाको ताण्डव आयो
टहरो पाल अनी ओत भित्र पानीको फोहोरा आयो
भोक, रोग अनी शोक आयो
भ्रष्टाचार, दुराचार अनी अत्याचार आयो ।।

कतैबाट एउटा रिमोट आयो
एक्कै परिवारमा फुट आयो
जताततै ल हेर्नुस् लूट आयो
लक्ष्मी भक्त शहीद हुने बम्पर छुट आयो ।।

नयाँ नेपाल आयो
ऐंतिहासीक संबिधान आयो
कुर्सी माथि उफ्रिने देशसेवक आयो
झेल, मेल अनी बेमेल को खेल आयो ।।

आयो आयो आयो हजुर
नयाँ नयाँ आयो
तात्तातो, मिठो-मिठो आयो हजुर आयो नयाँ नेपाल आयो ।
नयाँ नेपालमा
दयाको बिस्कुन संगै नयाँ धर्म पनि आयो
निरक्षरलाई निरपेक्ष्यता पनि ल्यायो ।।

बिस्कुट, नून, चामल सप्पै आयो
समान सँगसङै पारीका मान्छे पनि आयो
सित्तैमा नागरिकता नि पायो हजुर
लाटाहरुको देशको कित्ता पनि खायो ।।

आयो आयो आयो हजुर फेरी आयो
तर्साइ तर्साइ लौ हजुर
पेली पेली आयो फेरी आयो
आएको आयै छ हजुर कत्ती आको
कस्ले रोक्ने कस्ले छेक्ने
यस्तै जो छ 'रे' र 'र'ले चलेको देश
हजुर म त अब चुप बस्ने ।।

(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा दोश्रो भएको प्रतियोगी कविता)

No comments:

Post a Comment