यसपाली त कवितै फुरेन
कस्तो उमंग र हाँसो हुन्थ्यो
डाँफेको रंगिन नाचैमा
गुराँसको मिठो सुवासैमा
रातो चन्द्र र सुर्य बोकी
बुद्धको बोलि लेख्थ्यौ
तर यसपाली त कवितै फुरेन
यसपाली त कवितै फुरेन
छठमा मैले न्हुँदयामा तिमीले
अंगालो हाल्दै शुभकामना साट्थ्यों
तराईको गर्मीमा म पसिनाले नुहुंथे
पहाड देखि तिमी हाई काट्थ्यो
तर संगै हिमाल चढन नपाउँदा
मेरो कविताको शिरै झुकेछ
यसपाली त कवितै फुरेन
असिमित पिडा र आँसु दिई
सुनौला गर्भहरु तुहिएर गए
माटोलाई बन्धक बनाइंदा
श्रमहरु परदेश लखेटिए
कैयौं विरही मनहरु संगै
मेरो कविता पनि जलेछ
यसपाली त कवितै फुरेन
चिताको आगो ताप्नेहरुले
मसान जगाउंदा
सर्प पाल्ने बालहठमा
गिद्धहरु रमाउँदा
भ्रान्तिले रोपेको बिष वृक्षमा
मेरो कविता निस्ससिएछ
यसपाली त कवितै फुरेन
एउटा संग्लो ऐना टुक्राउन
कुरुप मान्छेहरु भेला भए
फेद काटी टुप्पो मा बस्न
शकुनी सरि गोटी खेले
सडकमा एउटा गोली चल्यो
मेरो कविता त्यहीं ढल्यो
यसपाली त कवितै फुरेन
धरहराको धरोहर फेरी उठाउन
लुम्बिनीको शान्ति फेरी फर्काउन
गोर्खाको न्याय फेरी ब्युँ ताउन
युगलाई शुन्य हुन् बाट रोक्न
मेरो कविता सिंह दरबारको भिडमा
एउटा एउटा देशभक्त खोजी रहेछ
(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा तेस्रो भएको प्रतियोगी कविता)
No comments:
Post a Comment