Saturday, September 26, 2015

कविता : खै यो के भयो मेरो देश

~डा निलेश तिमील्सिना~

गुण्डा मर्दा नेता तात्छन्
चोर देखी पुलिस भाग्छन्
विदेशिका गुलामहरु नै
यहाँ सार्वभौमताका गाथा गाउँछन्
खै यो के भयो मेरो देश ।

युवा जती बिदेश पस्छन्
बुढाखाडा श्रम बजार ओग्ट्छन्
यस्तो मानवश्रोतको अभावमा पनि
नेताहरु बिकासको राग रट्छन्
खै यो के भयो मेरो देश ।


एकताको माला बुन्ने सियो भन्दा
यहाँ छुटाउने कैंची प्यारो गर्छन्
कुनै दुश्मन चाहिँदैन यहाँ
दाजुभाइ एक आपस्मा लडी मर्छन्
खै यो के भयो मेरो देश ।

शान्ती क्षेत्रमा दुर्लभ भो शान्ती
अधिकारको नाममा सँधै झै झगडा र क्रान्ति
नेपालमा बाँकी भए केही मात्र नेपाली
छन् त खाली बाहुन, मधेशी र जनजाती
खै यो के भयो मेरो देश ।

बुद्ध, जनक, सिताको यो देश
प्रकृतिले सम्पन्न मेरो देश
शायद छिट्टै नै काँचुली फेर्ने छ
विश्वले आश्चर्य भई हेर्ने छ
सँधै फलोस् फुलोस् प्यारो मेरो देश, मेरो देश ।

(सेप्टेम्बर २६,२०१५ मा आयोजित 'नाफा - साहित्य साँझ २०७२'मा वाचन गरिएको अप्रतियोगी कविता)

No comments:

Post a Comment