~सुजाता गौतम~
म आफुलाई के कथा सुनाऊँ?
यो कथा कसरी पस्किऊँ?
कुन कथालाई श्वास दिएर जीवित बनाऊँ?
यदि कथा दुखले लेखुँ भनेँ,
सायद,
ती पानाका पीडाहरूले सोध्नेछन
"मै किन?"
यदि त्यो कथामा डरले डकारेकोछ भने
त्यो कथा,
त्यो कथाको ओडारमा प्रश्नहरु निसासिरहेका हुन्छन
अनि तिनले सोध्ने गर्छन
"के म पर्याप्त छु?
के म मायालाग्दो छु?
के म यस्को लायक छु?"
तर,
त्यो कथामा प्रेमले शासन गरेकोछ भने
उस्ले जीवनमा अशिम सुन्दरताको राज गर्दछ
उस्ले जीवनमा जिज्ञासाको पालुवा रोप्दछ
जस्ले वालापन फर्काउँछ
अनि जीवन जादुमय बन्दछ।
अब फेरि सोच्छु
आफुलाई कुन कथा सुनाऊँ?
हरेक क्षण्मा मौका छ
कथा फेरि फक्र्याउन
कुन कथालाई श्वास दिएर जीवित बनाऊँ?
(डिसेम्बर १०, २०२२ मा आयोजित 'नाफा-साहित्य साँझ २०७९' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment