Saturday, December 10, 2022

कविता : आज म घर फर्कदैछु

~लेखनाथ काफ्ले~

प्रिय, माफ गर मलाई
मैले हाम्रो सपनाहरुलाई बचाउन सकिन
यो रातो ठुलो काठको बाकसमा
सपनाहरुसँगै थुनिएर आज म घर फर्कदैछु ।

तिमीमाथी बोक्नै नसक्ने भारी बोकाएर
सहनै नसक्ने पिडाहरु थपेर
आशुहरुको भेलसगै गुन्जिरहेको
चित्कार सुन्न आज म घर फर्कदैछु ।

प्रिय, तिमी कमजोर कहिल्यै नहुनु है
तिम्रो पेटभित्र बढ्दै गरेको "सानो म"लाई
तिमीले स्याहार्नु, शुशार्नु छ
हुर्काउनु अनि बढाउनु छ
मक्किसकेका बुढा बर र पिपल जस्ता देखिने
मेरा बा आमाको बैशाखी बन्नुछ
त्यसैले तिमीभित्र बढ्दै गरेको
सानो आत्मासग मेरो आत्मा बिलिन गराउन
खाडीको तातो राप र धन कमाउने आश
सधैको लागि त्यागेर आज म घर फर्कदैछु ।

मलाई यसरी फर्कन भने पटक्कै मन थिएन
धन अझै कमाएर ऋणको धारो चुहिने
हाम्रो घरको खरको छानो फेर्नु थियो
आमा बाले बोकेको दुखको भारी बिसाउन मिल्ने
सानो चौतारो किन्नु थियो
तिम्रो मुहारको लागि थोरै मुस्कान किन्नु थियो
हाम्रो सन्तानको उज्ज्वल भविष्य किन्नु थियो
तर सबै अधुरा, अपुरा चाहनाहरुले भरिएको
थैली बोकेर आज म घर फर्कदैछु ।


प्रिय, बुझिदेउ कि म केहि क्षणको
लागि मात्र टाढा भएको हो
"सानो म" को रुपमा पुनर्जन्म लिएर
फेरी आगनीमा खुशी बाड्न अवश्य आउनेछु
त्यो बेला मेरी आमाको र तिम्रो ममतामयी
स्पर्शका च्यादरहरु हरेक दिन ओढौला
बाको स्नेहमा लुटुपुटु गर्दै रमाउला ।

यती बाचा गरिदेउ कि
मेरो "सानो म"ले म जस्तो नियती भोग्नु पर्दैन
जिम्वेबारीको भारी बोक्न खाडीमा भासिन पर्दैन
त्यसैले मेरा मरिसकेका चाहनाहरुलाई ब्युताउन
तिम्रा यी बाचाहरुलाई नजिकैबाट नियाल्न
रातो ठुलो काठको बाकसमा थुनिएर
आज म घर फर्कदैछु ।


(डिसेम्बर १०, २०२२  मा आयोजित 'नाफा-साहित्य साँझ २०७' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा प्रथम भएको प्रतियोगी कविता)

No comments:

Post a Comment