Saturday, July 29, 2017

कविता : निष्ठुरी

~अविमन पसछें~


गर्थ्यो मीठा मायाका  कुरा
आज सम्झिंदा भयो की तितो

मुरीका  मुरी मायाको भकारी
 खाली थियो की रितियो

फेरी ख़ायौ नछुटिने कसमहरू
 साक्षी फेरेर  भयो की सजिलो

कतै मेरो  नाम आउँदा
 हुन्छ की तिमीलाई अप्ठ्यारो

अनिद्रामा कोल्टे फेरी रह्यो रे
 सिमलको भुवाले हो की बिझेको

सुस्तरी हिंड्छौ  संगमर्ममा
 आफ्नै पदचाप संग तर्सियौ

लजाएर हो की आफै संग
 ऐना सामु मुख  छोप्यौ

 सुबाससंग निस्सासिएर हो की
 किनि किनी  धुवाँमा  रमायौ

आजकल  पिउने गर्छौ रे
 पखाल्न हो की मनको मैलो

रोकी नराख आँसुहरु
 नझरेकोले   हो की पोलेको

(जुलाई २९, २०१७ का दिन आबिष्कार-अप्सराको भारती निवासमा आयोजना भएको "१७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment