भेट्घाटको सिल्सिला समर(ग्रिश्म) मास मा धेरै हुनेगर्छ । यस्पलीको भेट्घाटमा २-४ वटा नयाँ अनुहारहरु झुल्किए । वासिन्दा पूरानो भएपनी यस अघिका भेट्घाटमा नदेखेकाले होला मलाई नै नयाँ भन्ठानेकारहेछ्न नयाँ अनुहारहरुले ।
पहिलोले प्रश्न तेर्साइहाले " अनि तपाईंको नाम चाँही के पर्यो होला? "
"एह ! मेरो नाम आ'बिष' हो , अनी हजुरको ? " मैले सोधें ।
"मलाई चाँही ईन्द्र भन्छन , नाम चाँही मेरो बरुन हो " पहिलोले भन्यो ।
दोस्रोले भन्यो 'म आकाश' अनी हात अगाडि बढायो ।
सधैं झैं भेट्घाटमा देखिरहने पुराना टोपेन्द्र बहादुर दाइ हाम्रो चिनापर्ची हुँदा हुँदै टुपुल्के अनी आफ्नो ठूलो आवाजमा चिनापर्ची गरेर गफ्फिन थालिहाले । टोपेन्द्र दाइलाई उहाँको नामले आजभोली सम्बोधन गरेको खासै मनपर्दैन - नयाँ उपनाम राख्नु भएको छ , टोबी । यही नामले बोलाउँछ्न गोराहरु उन्लाई आजकाल उन्को काममा । गफ सदा झैं नेपाल, नेपाली हुँदै राजनीति अनी देशको स्थितीमा अघीबढीरह्यो ।
गफैगफमा पहिलो अनुहार(ईन्द्र)ले टोबी दाइलाई सोधी हाल्यो, " अनि अहिले कुन स्ट्याटस हो तपाईंको" । अगी सम्म घमाईलो अनुहार एक्कासी घना मेघले ढाके झैं भयो दाइको । बाँकी अरु पनि एकअर्काको मुख हेराहेर गर्न थाले ।
दोश्रो अनुहारले जान्ने भएर भनी हाल्यो, " मैले त अलबामा हुँदा तेहिंंको एउटी भेट्टाएँ, पट्टाएँ अनी खुरुक्क बिहे हन्दिएँ अनि २ बर्ष पछि आ-आफ्नो बाटो लागियो, तर त्यो २ बर्ष कम्ता सारो कटेन र ! तर हरियोपत्ता चाँही निकालियो बा ।" यत्ती भनेर उस्को पौरखले गौरवन्वित छाती फुलाउँदै हाँस्यो ।
टोबी दाइ पनि दोस्रो अनुहार खुलेर बोलेको देखेर अलिक खुलेरै बोलुँ जस्तो लागेछ कि के हो अनि भने ,"आफू त घुम्न आ'को महिना दिनलाई तर यतै दिल बस्यो, अनी तेही बेलामा नेपालमा मेरो ठूलोबा नि मोटरले हानेर चिप्लिए, फर्किन मन थे'न अनी वकिल कहाँ गा'को त तेरो केस एकदम राम्रो छ - इस्टोरी लेखेर शरणार्थी यप्लाई गर्ने हो भनो , मैले नि हुन्छ गर्दिम न त भनेर गर्देको, ट्वक्कै लाग्यो भाग्यको ढुङो र तेस्पछी यतै छु ।"
अनि पहिलो अनुहारले म तिर फर्केर सोध्यो,"तपाईं नि ?" ।
आफ्नो त केही काहानी नै थिएन भन्न , तैपनी भनें , "खै खासै त केही हैन, अम्रिका बिद्यार्थी भएर आईयो, पढाई सकेर कन्सल्टेन्सीमा जाकीईयो, तेहीँ यच-वान भो र तेसैले हरियो पत्तासत्ता सप्पै गर्दियो" । मेरो निरस संघर्षका अमिलो कुरो सुनेर पहिलो अनुहारले थप्यो, "हैन अम्रिकामा त सजिलै हुन्छ सप्पै भन्थे , तपाईंहरुले त निकै कठिन बाटो रोजेर यहाँसम्म आउनु भएछ !"
कौतुहलले अलिक कुत्कुत्यायो मलाई किन कि यो कस्तो मान्छे होला त जस्ले संघर्श नगरीकन अम्रिकामा आयो र त्यसरी नै जिविका चलाउँला भन्ने ठानेको छ । तेसैले सोधें,"तपाईं के काम गर्नु हुन्छ ? तपाईंको स्ट्याटस चाँही के हो र ?"
उस्ले गजक्क परेर भन्यो,'म त अम्रिका सरकारले बोलाएर आएको, डिभी दिएर । अब काम नि उनिहरुले दिन्छ्न् भन्या छ । धन्न तपाईंहरुले जस्तो संघर्ष गर्न परेन यो अर्काको देशमा आएर ।"
उनको उत्तरले म निरुत्तर मुस्कायें मात्र, अनी मनमनै भनें ,"त्यो त भोलीले देखाउँछ साथी । "
यो सब सुनेर पर एउटा कुनामा चुपचाप एउटा अन्तिम अनुहार घोरिएर बसिरहेको थियो । टोबी दाइले ऊ तिर फर्किदै प्रश्नको छ्यप्यास्त्र प्रहार गरे, "भाइ तिम्रो नाम के हो, किन चुपचाप ?"
"नाम मेरो पृथ्वी हो दादा, म के भन्नु स्ट्याटसको कुरोमा - एउटा विधार्थीको के स्ट्याटस के नस्ट्याटस, हैन र ?"
अस्तु
("शब्दाङ्कुर साहित्यिक पात्रिका"को माघ २०७२ को पूर्णाङ्क १७२ मा प्रकाशित)
(नयाँ बर्ष २०१६ को आगमनसँगै जनवरी २, २०१६ मा - विश्वजीत-मल्लिका अधिकारीको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)
No comments:
Post a Comment