Monday, January 1, 2018

​म्याडिसनमा १८औं कोठे साहित्य गोष्ठी सम्पन्न

~आविष्कार भारती

मध्य-पश्चिम अमेरिकाको सानो शहर म्याडिसन, विस्कन्सिनमा नेपाली भाषाको सानो यत्न, एउटा चौमासिक साहित्यिक भेट्घाट हुने गर्छ र यसलाई नाम दिईएको छ - म्याडिसन कोठे साहित्यिक गोष्ठी । शिशिर ऋतुको आँत जमाउने चिसो छिचोल्दै, २०१७ सालको अमिला तिता पल पछाडि छोडेर सुकिला मलीला पल सङ्गाल्ने आशा, उमङ्गका साथ २०१८ जनवरी १ तारिकका दिन म्याडिसनमा १८औं कोठे साहित्यिक गोष्ठी सम्पन्न भएको छ ।

दिनार श्रेष्ठ एवम् धन मल्ल श्रेष्ठको आयोजनामा उहाँहरुको
आवासमा भएको यस कार्यक्रममा उत्साहका साथ २७ जना सहभागीले कविता, गीत, मुक्तक, गजल, भजन, संस्मरण, चुट्किला प्रस्तुत गरेर व शुभकामना आदान प्रदान गरेर सम्पन्न गरियो । कार्यक्रमको सुरुवात कृष्ण प्रधानले अम्बर गुरुङ्गको शब्द/सङ्गीत/स्वर रहेको "मन सुन्दर त सुन्दर हुन्छ धर्ती गगन सारा" बोलको अती सुमधुर गीत प्रस्तुत गरेर गर्नु भएको थियो त्यसको लगत्तै गोबिन्द गिरी प्रेरणाले आफ्नो मिठो गजल वाचन गर्नुभएको थियो । तत्पस्चात नियात्राकार राजेन्द्र अर्याल, साहित्यकार गोबिन्द सिँह रावत, अबिमन पसछें, लक्ष्मी गुरुङ्ग, धन मल्ल श्रेष्ठ, लेखनाथ काफ्ले, बिजय श्रेष्ठ, गंगा मल्ल श्रेष्ठ, नारायणदास मल्ल, बिनोद पाण्डे, आविष्कार भारती व सन्तोष लामिछानेले कविता वाचन गर्नु भएको थियो भने मञ्जु लाल कर्णले भजन, चन्द्रकिशोर लाल कर्णले आफ्नो जनकपुरमा रहँदाको ३८ बर्षे प्रध्यापन पेशाको छोटो संस्मरण र दिनार 'रनादी'ले चुट्किला सुनाउनु भएको थियो । वरिष्ठ साहित्यकार द्वय गोबिन्द गिरी प्रेरणा र गोविन्द सिँह रावतले क्रमश भर्जिनिया र टोरोन्टो, क्यानडाबाट फोनको माध्यमबाट आफ्नो रचना वाचन गर्नुभएको थियो । कार्यक्रमलाई रोचक बनाउन दिनार 'रनादी'ले छोटो नेपाली हाजिरी जवाफ प्रतियोगिता पनि सञ्चालन गर्नुभएको थियो ।  गोबिन्द द्वय एवम् प्रसिद्ध स्रष्टा हिरण्य भोजपुरेको सप्रेम शुभकामनाले म्याडिसन साहित्य प्रेमी जनमानसको मन हर्षित भएको देखिन्थ्यो । मन्त्रमुग्ध पार्ने साहित्यरचना वाचन पछी सम्पूर्ण सहभागीहरुलाई मनै तृप्ति हुने मिठो खाना-पिनाको आयोजक दम्पत्तीले व्यवस्था गर्नु भएको थियो । वाचन भएको सम्पूर्ण रचना आविष्कार भारतीद्वारा सञ्चालित "म्याडिसनको साहित्य डबली" ब्लगमा राखिने छ । 

फेरी अर्को साहित्यिक डबलीमा भेट्ने वाचाका साथ अङ्ग्रेजी नयाँ बर्षको शुभकामना एक-आपसमा साट्दै आफ्नो सुन्दर मन लिएर सबै आफ्नो सुन्दर संसारमा तिर लागेका थिए । 

No comments:

Post a Comment