Monday, January 1, 2018

गजल : भन्दिनुहोला मान्छेलाई

~गोविन्द गिरी प्रेरणा~

भैगो आमा पस्किनु पर्दैन भात भन्दिनुहोला मान्छेलाई
कसले उठाउने सास नफेरी वाकसमा वसेको मान्छेलाई

नक्कली तालिमको सक्कली प्रमाण र राहदानी वोकेथ्यो
सोधिहेरन कस्तो छ उसको भाग्य जोखाना हेर्ने मान्छेलाई


रिण तिर्छु धन जोर्छु ल्याउँछु भन्थ्यो सुनको लाप्सा पनि
भन्देउ धागो नउने छड्के तिलहरी वनाउने मान्छेलाई

उहिले उहिले त आउँथ्यो धागोले वाँधेको चिट्ठी हुलाकवाट
फेसवुकमा आइसक्यो सम्चार अघिनै गाउँभरीका मान्छेलाई

वाकस उड्यो कि उडेन सवै कागजात मिल्यो कि मिलेन
भिसा अव चाहिन्न सास नफेरि वाकसमा वसेको मान्छेलाई

- १६ फरवरी २०१७
मनासस, भर्जिजिनिया ।

(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment