Sunday, August 4, 2019

कविता : अर्थ र अर्थहीनहरू

~अविमन पसछें~


बिना गुरु सिढ्ढी प्राप्त गर्छन् एकलव्यहरू
निद्रा मै विलीन हुन्छन् कुम्भकर्णहरू

आफ्ना मै सीमित रहन्छन् धृतरास्ट्रहरू
परोपकार गरी आमा कहलिन्छन् टेरेसाहरु

आफ्नै  कवच दान गर्छन् कर्णहरू
भाग खोस्न तल्लीन हुन्छन् दुर्योधनहरू

दर्शन जोगाउन विष पिउँछन् सुकरातहरु
दर्शन मास्न बम  खसाल्छन् हिटलरहरु

कृतिले कालजयी बन्छन् भानुभक्तहरू
पानीका फोका झैँ बिलाउँछन् कैयौँ राजाहरू

देशको रक्षामा ज्यान थाप्छन् बीरभद्रहरू
लाभको लगी पहिचान बेच्छन् लेंडूपहरू

उपलव्धिविहीन हल्ला गर्छन् हुटीट्याउँहरु
चुपचाप महका चाका बनाउँछन् माहुरीहरू ।।

(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment