Sunday, August 4, 2019

कविता : आदिकवि


~लेखनाथ काफ्ले~

रम्घाको माटोमा उभिएर
देश भरी फुल्न सक्ने भानु
तिमी ध्रुव तारा जस्तै चम्किरहेछौ
नेपाली भाषाको अन्तरकुन्तरमा पुगेर
लाग्छ, लामो यात्रामा तिमी लम्किरहेछौ ।



मौन छौ, बोल्दैनौ तर तिमीले जन्माएका अक्षरहरू बोलिरहेछन्
रामायणका श्लोकहरूले कैयौँ नेपालीका मनका ढोकाहरू खोलिरहेछन्
शून्य छौ तर तिम्रा बिचार हरू छरिएका छन्
साहित्य रूपी डालोभित्र तिमीले लेखेका अक्षरहरू भरिएका छन्
ती अक्षरहरू कहिले कविता बन्छन्
कहिले गजल बन्छन्, कहिले गीत बन्छन्
अनि नेपालीहरूको सुख-दु:खको सारथि बनेर
हृदयमै बास बस्छन् ।

मलाई विश्वास छ, आज तिमी धेरै खुशी छौ
तिम्रो सपना आज वास्तविकतामा बदलिएको छ
तिम्रा अक्षरहरूबाट एकता भव्य सुन्दर महल खडा भएको छ
त्यो महलमा सर्जकहरूको जमघट हुन्छ
नेपाली शब्दहरूको लेनदेन हुन्छ
छन्दहरू र लयहरूको इन्द्रेणी देख्न पाइन्छ
अनि रामायणको श्लोकहरू कोठैपिच्छे गाइन्छ
हो तिमी साह्रै खुशी छौ
तिम्रो सपनाको महल आज ठडिएको छ
कयौँ मनभित्र तिम्रो नाम गढिएको छ
हो जबसम्म चन्द्र सूर्य रहन्छ तिमी हाम्रो आदिकवि हुनेछौ
हामी भानुको भक्त बनेर तिमीलाई सम्झिरहएछौं
तिमीले बनाएको महलको तल्लाहरू थपिनेछन्
श्रीजनाको मेला लाग्नेछ, सर्जकहरूको भीड बढ्नेछ
तिमी सधैँ अमर बन्नेछौ
युगयुगान्तर सम्म हाम्रो आदिकवि हुनेछौ ।


(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment