Sunday, August 4, 2019

कविता : मौन साथी


~कल्पना ढकाल रिजाल~   

साना साना कुरामा खुशी हुने मेरी साथी
रातो र उजेलो रङ्ग मनपर्ने उसलाई
अरूलाई माया दिन खोज्ने मेरी साथी,
अचानक अँधेरो रङ्गको प्यारी भइन् ।
उच्च सोच राख्ने मेरी साथी
सोचाइ नै अफ्ठेरो लिने भइन्

मेरो साथमा खुशी हुन्थी
तर मेरै साथ उसलाई गाह्रो भयो ।
जाऊँ घुम्न, रमाउन,
गरिबको हात समाउन भन्ने मेरी साथी
समाज र साथीभाइलाई पर राख्ने भइन् ।
के भयो उसलाई भन्ने सोच त आयो
तर सोध्ने आँट आएन
उसलाई अङ्गालेर बुझ्न खोज्दा खोज्दै
अलि ढिलो भएछ
मैले उसको बहिरीलाई प्राथमिकता दिएछु
तर भित्री उसलाई के हुँदैछ सोधिनछु ।

कहिल्यै नरिसाउने,
कहिल्यै नआत्तिने,
कहिल्यै नराम्रा शब्द नबोल्ने मेरी साथी,
अचानक नराम्रो शब्द मनपराउने भइन् ।
यति हुँदै मैले बुझेकी भए,
ऊ शायद
मेरै वरिपरि हुन्थी होला ।
बुझ्नु पर्ने रहेछ मानसिक चिन्ता,
बुझ्नु पर्ने रहेछ उसले देखाएका सङ्केत
तर म कति अञ्जान भएछु,
यस्सैमा साथी गुमाएछु ।

(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)


No comments:

Post a Comment