Saturday, March 24, 2018

कविता : बोर भो

~दिनार 'रनादी'~

भिनाजु, मार्च २४ अगाडिको कुनै पनि विकएण्ड खाली छैन
कोठे कविता ढिलो हुने भो 'बोर' भो
ए हो र ! अँ नानी 'बोर' भो ।

संसार भरी सबैभन्दा धेरै बोलिने शव्द 'ओके' हो
तर नेपालमा धेरै बोलिने शव्द 'बोर भो'
लौ सुष्मा सुन 'बोर'को वान्की -
"घाँस काट्न जाँदा
घँसिनिलाई घाँस नपाएर 'बोर' हुन्छ
दलीलाई गोरु
चुट्न नपाएर 'बोर' हुन्छ
तरुनिलाई तन्नेरी , तन्नेरीलाई तरुनी
भेट्न नपाएर 'बोर' हुन्छ
विद्यार्थीलाई चिट
चोर्न नपाएर 'बोर' हुन्छ
जुलुसमा आ'को जुलुसेलाई
लठ्ठीले चुट्न नपाएर
पुलिसलाई 'बोर' हुन्छ  ।

कसैलाई घाम नलाग्द 'बोर' हुन्छ
किसानलाइ पानी नपर्दा 'बोर' हुन्छ
खै के भन्ने यो दुनियाँँलाई
'बोर' भन्न नपाएर 'बोर' हुन्छ ।

बेस्करी गाडी कुदाउँदा
स्पिड्को लिमिटले 'बोर' हुन्छ
पैदलै हिँडुभन्दा
खुट्टा दुखेर 'बोर' हुन्छ । "

यो दुनियाँ गजब छ
जे गरेनी 'बोर' हुन्छ ।  

(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment