Saturday, March 24, 2018

कविता : झेल

~अर्जुनध्वज खड्का~
Arjun D Khadka

उनी मधुवनकि मयुर पङ्ख
तँ रबर ब्याण्डको चुङ्गी
उनी रेशम झैं मुलायम कोमल
तँ खद्दरको खस्रो लुङ्गी 
उनी महासागर झैं शहन्शील
तँ उर्लँदो खहरेको भेल
हैन कसरी भयो यो मेल
पक्कै गरिस केही झेल ।


उनी आदी कविकी बिशेष रचना
तँ ऋषी धमलाको हमला
उनी सुन्दर मनोहर उपवन जस्ती
तँ जङ्गली धतुरोको गमला
उनी ईम्पोर्टेड पाउडर क्रिम
तँ लोकल चमेलीको तेल
हैन कसरी भयो यो मेल
पक्कै गरिस केही झेल ।

उनी लुम्बिनीकी शान्ती वन
तँ रत्नपार्कको दङ्गा
उनी डबल प्युरिफाईड मिनेरल वाटर
तँ धोबिघाटको गङ्गा
बोयिङ्गको बिजिनेस क्लास उनी
तँ जनकपुरको रेल
हैन कसरी भयो यो मेल
पक्कै गरिस केही झेल ।

चन्दन वनको सुगन्ध उनी
तँ नीम बोटको छाला
कोमल काञ्चन काया उनी
तँ अोम पुरीको गाला
उनी गुरुकूलकी प्रोफेसर जस्ती
तँ ३ पटका मेट्रिक फेल
हैन कसरी भयो यो मेल
पक्कै गरिस केही झेल ।

उनी पूर्णिमाकी जून जस्ती
तँ मट्टितेलको टुक्की
उनी कलाकन्द उनी मनभोग
तँ हवल्दारको मुक्की
उनी ५ तारे होटेल
तँ भद्रगोलको जेल
हैन  कसरी भयो यो मेल
पक्कै गरिस केही झेल ।

उनी वायुपङ्खी अश्व जस्ती
तँ चिडियाघरको भालू
उनी टेलिभिजनको मोडल जस्ती
तँ प्लटिङ बिग्रेको तालु
जती कने नि विश्वाश नहुने
यो प्रेमको अन्धो खेल
हैन कसरी भयो यो मेल
पक्कै गरिस केही झेल ।

(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । ) 

No comments:

Post a Comment