Saturday, March 24, 2018

कविता : फेसबुक

~बिनोद पाण्डे~

टिङ घन्टि  बजेको थ्यो फेस्बुक मा मेसेज आयो
उन्कै फ्रेन्ड रिक्वेस्ट रैछ  झन्डै मेरो सातो गयो
बिर्सिएछु सबै कुरा आधा घण्टा प्रोफिल हेरें 
फ्लश्ब्याक मा कहाँ पुगेछु निकै  लामै सास फेरें

धेरै पैले कुनै बेला म पनि त तन्नेरी थिएँ 
बाहिर सोझो देखिए पनि कती कुरा मन भरी थिए
सबै कुरा नभनेनि छोटकरीमा सुनौ हैत
च्वास्स कुरो बिझ्न सक्छ मन्मै "म म" भनौ हैत

निलो स्कर्ट - सर्ट निलो, गुलाबी त्यो चुन्नी हुन्थ्यो
लजाएर निहुरिदिदा झट्का भित्रै छुनी  हुन्थ्यो
जुधाएर नयन हरु १२ भोल्टको करेन्ट जान्थ्यो
मैले आँखा जुधाएको बिर्खे उस्लाई हेर्या थान्थ्यो

अगाडि ति गुरुजिले नानाथरी भट्याइरन्थे
लुकिछिपी ति नजर्ले मलाई भने लठ्याइरन्थे
अरु मर्थे बन्दुकैले आफु तेसै शहीद भा'थ्यो
नमेटिने उन्कै तस्बिर आँखा भरी कैद भा'थ्यो 

केही कुरो उनि सामु जाहेर गरूँ भन्दै थिएँ 
मेरै अघी आउँछिन उनी मन्मा कुरा बुन्दै थिएँ
के सोच्या थिएँ मन्ममै च्याट्टै सबै बिर्सिएछु
मान्छे थिईन तरै पनि बाघ झैं किन तर्सिएछु

कती कुरियो दोबाटोमा सँगै  यात्रा गरौँला भनी
आँखा छली दुनियाँको अन्तै बसाइ भरौँला  भनी
कस्तो कस्तो काउकुती भित्र भित्रै लाग्ने गरी
सम्झिदैमा यती बिघ्न मन्मा माया जाग्ने गरी

एतिकैमा बत्तिहाल्यो सोर बर्से जवानी त्यो
पसल छेउ चिया पिउँदै कुरी बस्ने काहानी थ्यो
नबोलेनी एकै बचन मन्मा माया कतिकती
के कुराभो नौमुरी तिल नौलाख ति तारा जती

समयले कोल्टे फेर्दा नदिका दुई तीर बनी 
एकातिर मै छुटें , छुटि हालिन उनी पनि
सम्झना उन्को प्रिय यो मन अझै भर्या छैन
मिलन बिछोड अर्कै कुरा मन्मा माया मर्या छैन 

(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment