Sunday, August 4, 2019

कविता : पागल

~शान्ता पाण्डेय~

यु त्यो बाटोमा दौडिरहेको छ कहिले ठिङ्ग उभिन्छ
हात हल्लाउँछ कसैलाई बोलाए जस्तो
चिच्याई चिच्याई कराउँछ नबुझ्ने भाषा बोल्दछ
सकिनसकी पिठ्युँमा भारी बोकेको हुन्छु ।।

कसैको मलाइजा छैन, कसैसँग डर त्रास छैन
पिठ्युँमा बोकेको भारीको होस छैन
केही पिर छैन भूत, भविष्य र बर्तमानको
चिन्ता छैन बास, गाँस र कपासको ।।

पाए खाइदिन्छ नपाए भोकै दौडिदिन्छ
लुगा भए लगाइदिन्छ नभए नाङ्गै हिँडिदिन्छ
जहाँ रात पर्छ त्यहीँ निदाइदिन्छ कतै छैन उसको गन्तव्य
आफ्नै तालमा रमाउँछ, कसैको अभावमा दु:खी हुन्न ।।

ऊ सित बोल्ने र हिँड्ने कोही हुँदैन
जिन्दगीको यात्रामा एक्लै हिँड्छ एक्लै बोल्छ
एक्लै रमाउने गर्छ, एक्लै रुने गर्छ, एक्लै हाँस्ने गर्छ ।।

जिङ्ग्रिङ्ग परेको कपाल, दुर्गान्धित लुगा हुन्छ
मैलोले कत्ला परेको शरीर काँपिरहेको हुन्छ
ऊ देखी सबै तर्किने र भाग्ने गर्छन्
कहिले नाच्छ आफ्नै मस्तीमा कहिले गाउँछ ।।

कहिले बस्छ फोहोरको डुङ्गुरमा त्यही फोहोरमा रमाउँछ
दु:ख के हो सुख के हो उसले होस पाउँदैन
आफूलाई सबैभन्दा सुखी हुँ भन्ने ठान्दछ
जति सम्झाएनी सम्झँदैन आफ्नो ताल छोड्दै छोड्दैन ।।

भगवानको कानुन पनि कहाँ छ ?
त्यसलाई छहारी दिने कोही हुन्छ र ?
उसलाई हेरेर हृदय दुखाउने को नै हुन्छ र ?
न परिवार न भगवान् अनि ऊ कसको सन्तान ?

अर्थ : मलाइजा = बिन्दास किसिमको मान्छे

(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)  

No comments:

Post a Comment