Sunday, August 4, 2019

कविता : नदी र हाम्रा पाखुरा भाग्य रेखा नेपालका

~डा. चम्पक प्रसाद पोखरेल~

म नेपाली टीका थाप्छु
मलाइ सगून र साइत गर ।
किनभने,
हेर त यहाँ
पहाड पहाड ह्वैन,
पग्लेर पानी बगिरहेछ ।
पानी पनि पानी ह्वैन,
सवाकोटी नेपालीको
तागतै तागत बगिरहेछ ।
हिमालको ताँतीबाट
जून खेल्ने छातीबाट
दम पचाउने मेरै लागि
पौरखका पौरख ओइरिरहेछ ।


छोड छोड बाटो छोड,
म त तुफान बनेर उठ्नु छ ।
किनभने,
नदीहरूको छालमा
झर्नाहरुको थालमा
हामीलाई नै दिनलाई
इन्द्रेणिले सातै रङ्ग
थोरै हो र
नाङलाभरी अर्पिरहिछ ।

मेरो सानो चुलो नेर
छोरी खेल्ने कुलो नेर
चियाएर हेर त,
पूर्णिमाको जून लुकेको छ
उद्यमीलाई सुन लुकेको छ
इन्द्रजीको बगैँचा अनि
प्रकृतिको कुसुम लुकेको छ ।

त्यसैले सुन त,
मसँग एकता छ
मलाइ सीपको भिक्षा देऊ
भोक लागेको छ ।
मलाइ यत्ति भन्नू छ
किनभने,
मेरो निर्माणको समाधिमा
मेरो पौरख अगाडि मैले
हिमाली पखेरुको पर्दा टाँग्न
जान्नू परेको छ ।

किनभने,
त्यहाँ श्रृजनामय भागवतको
एघारौँ अध्याय लुकेको छ,
सागर ह्वैन तर सम्पूर्ण सागरको
सारांश लुकेको छ,
हराभरा खेत र पाखाको
मीमांसा लुकेको छ ।

त्यसैले हेर एक दिन यहाँ म
रोशी देखि कोसी समेटेर
चट्टान फोरिदिन्छु ।
पहाड पछारिदिन्छु,
तारा फलाइदिन्छु ।
एउटै स्विच थिचेर
यस व्रम्हाण्डको शिर
धर्ती भरी खसाइदिन्छु ।
पगालेको हिमाललाई त दाजु म
खर्पन लदाइदिन्छु ।

किनभने,
मसँग सवाकरोडको
सिङ्गो साहस समेटिएको छ,
मेरो गाई र वाख्रा चर्ने पखेरामा पनि
तागत र ल्यागतको उधारण सहित
भगवानको अमोघ अस्त्र लपेटिएको छ ।

(तत्कालिन नेपाल राजकिय राष्ट्रिय प्रज्ञाप्रतिष्ठानबाट आयोजित राष्ट्रिय कविता महोत्सव २०३६ मा द्वितिय पुरस्कृत कविता - साभार नेपाल राष्ट्रिय प्रज्ञाप्रतिष्ठानको कविता  महोत्सव बिशेषाङ्कमा पनि यो कविता उपलब्ध छ)


(अगस्ट ४, २०१९ का दिन लेखनाथ-प्रतिभा काफ्लेको निवासमा आयोजना भएको "२७ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment