तिमीले "तिमी" हुनुको धरातल थेगेकी थियौ र !
मुसलधारे पानीमा खहरेहरूलाई उछिन्दै भवसागर तरेकी थियौ र !
आज, तिमीले छरेका बीजहरू टुसा बनेर माटो माथि आएकाछन् !
ती अस्ति हिऊँदमा उजाड सबै वृक्षहरुमा पालुवा पलाएकाछन् !
म सम्झिन्छु धेरै पटक तिम्रा पङ्खहरू काटिएका थिए!
तर, कोसिस तिमीले छोडिनौ !
डुब्दै, तैरींदै, निखारींदै, बाधा डर असम्भवलाई पछार्दै,
हिम्मतको कवच बनेर तिमी
डटीरह्यौ, खटीरह्यौ,
हर प्रहर लडिरह्यौ,
मुर्जाएका सपनाहरूलाई जगाइ राख्न,
भोलिका सम्भावनाका किल्लाहरूलाई मजबुत गरिराख्न!
भोलिसम्मको यो यात्रा थाहा छ जटिल अनि कष्टकर हुनेछ!
विश्वासको हातेमालो भन्दा हितैसी ढोँगहरूको सामना हुनेछ!
यहाँ संवेदनशील आत्माहरूमा पटक पटक प्रहार हुनेछ!
आक्रोशको ज्वालामुखी धेरै चोटि फुट्नेछन्!
तर पनि,
आशा लागि रहन्छ यो माहोल अनि परिस्थितिले कोल्टे फेर्नेछ!
एक दिन थोपा थोपा सङ्गालिंदै, भरिँदै,
परिवर्तन को आयाम आउनेछ !
तिमीले देखेको सपनाले एउटा सार्थक आकार पाउनेछ!
विश्वास सद्भाव समानताको नयाँ किरण झुल्किनेछ !
कुनै रङ्ग-वर्ग-लिङ्ग भेद विहीन स्वर्णिम संसारको रचना हुनेछ!
एउटा स्वर्णिम संसारको रचना हुनेछ ।।
(जुन २३, २०१९ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२६ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment