Saturday, October 27, 2018

कविता : भञ्ज्याङ्ग

~दिनार 'रनादी'~

साठि नाघेछ
जीवन यात्राामा हिंडेको
भञ्ज्याङ्गमा भारी बिसाएर
जिवनलाइ फर्केर हेर्दा
अर्कैको भारी पो बोकेर आएछु
जिवनको उकाली ओरालीमा
अर्कैको गीत पो गाएछु ।

जिवनको उहापोहमा
रहरका बिस्कुन
थुप्रै सुकाएछु
नहुने शङ्कामा मन पिराएछु
भञ्ज्याङ्गमा भारी बिसाएर हेरेको
अर्कैको भारी पो बोकेर आएछु
जिवनको उकाली ओरालीमा हिंडेछु ।

पछाडि जिवनको
धमिलो प्रतिबिम्ब देख्छु
अगाडि अगम्य उकाली भेट्छु
फर्किन मुस्किल छ
फर्किने कुरोपनी भएन
भरी अर्कैको बोकेर
अब अगाडि हिंड्नुको
अर्थ पनि रहेन ।

यो गरुङ्गो भारी यहीं बिसाएर
जिवनको उकालीमा
अब अगाडि बढ्नु छ
भींढहरुमा नहराएर
अब एकान्तमा रम्नु छ
काम क्रोधको कुम्लो
लोभ मोहको झोलाहरु
यही भञ्ज्याङ्गमा फालेर
अब जिवनको अन्तिम यात्राामा हिंड्नुछ
टाढा क्षितिजमा तरङ्गीत
अहो ! त्यो शिखरमा पुग्नु छ
नौदाउँदै अस्ताउनेहरुको भिंडबाट हराउन
अब त्यो शिखरमा पुग्नु छ
यात्रााको अन्तिम लक्ष्य
अब आफै उदाउनु छ ।  

(अक्टोबर २७, २०१८ का दिन अबिमन-सृजना पसछेंको निवासमा आयोजना भएको "२३ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment