जाँदै छु प्रिय परदेश आज नौंडाँडा काटेर
फर्केर आउँछु धन कमाई ल्याउँछु पसिन साटेर ।
रहर हैन घर छाडि जाने बनायो बाध्यता
साहूको ऋण तिरेरै जीवन बितेछ आधा त
बस्न मन थियो परिवारसँग माया है गाँसेर
खेल्न मन थियो बाल-बच्चासँग सँधै हाँसेर ।।
नरुनु बाबा नरुनु आमा म हिंड्ने बेलामा
नरुनु माया नरुनु साथी गाउँबेसी मेलामा
नगरे वाचा दैवले साँचे फर्केर आउनेछु
छुटेको मुटु जोडेर फेरी खुशीले छाउनेछु । .
-लक्ष्मी कुमार गुरुङ
(जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment