Sunday, June 24, 2018

कविता : दृष्टि

~अर्चना धाख्वा~

उकालो लाग्नेले अग्लो देख्यो,
ओरालो लाग्ने बिलाप्यो
रमाउंदै हिंड्नेले आहा भन्यो,
हत्तार हुनेले सराप्यो ।

कोहि मलाई ठोक्दै, ठेल्दै, लौरो घिसार्दै, टेक्दै
आफ्नो यात्रा सकुशल पार्न,
मलाई कोपर्दै रेट्दै ।

कोहि मेरो प्रकृतिसँग 
पिरतीको डोरी बाँध्दै
मेरो बर्तमान माझ
आफ्नो भविष्य खोज्दै । 

लतार्ने पछार्नेले पहिरो देख्यो,
श्रीङ्गार्नेले हरियाली
श्रद्धालुले श्रद्धा देखायो,
ईर्स्या गर्नेको बेहाली ।

म त त्यहिँ थिएँ, 
जमिनबाट उँभो पलाउँदै
मौसमको चक्रव्यूहमा,
मौसमसँगै रमाउँदै ।

हिँउदमा स्वेत,
वर्षामा रङ्गिदै
प्रकृतिको कृयाकलापलाई,
हरदम स्वीकार्दै । 

न सूर्यलाई छेकेँ,
न पवनलाई रोकेँ
मेरै काया बद्लिँदै गो,
मैले सबै भोगेँ ।

दुर्दशा देख्नेले मुन्टो फर्कायो,
मर्म बुझ्नेको आँखा रसायो
कसैले क्रोधित भई गाली बर्षायो,
कसैले मायाले मनमा बसायो ।

फरक सायद हेर्नेको
दक्षतामा थियो
बुझ्ने मन र सोच्ने
क्षमतामा थियो ।

म त उही हुँ, उस्तै नै छु लाग्छ,
देख्नेले आफ्नै तस्विर उतार्यो
दुर्दशा देख्नेले मुन्टो फर्कायो,
मर्म बुझ्नेको आँखा रसायो ।  
 

( जुन २४, २०१८ का दिन मित्र-सन्तोषी पौडेलको निवासमा आयोजना भएको "२० औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको । )

No comments:

Post a Comment