~सोम खनाल~
शीखरै फुल्ने त्यो मेरो नेपाल, गुराँश थुंगाको
कस्तुरी डुल्ने ती डाडा पाखा, चप्लेटी ढुंगाको
स्मृती मीठो आतैमा बोकि छोडेर आको छु
मुटुमै रोपि देशको माया गोडेर आको छु ।
थाहा छ मलाई के फुल्छ सधै पाहाडी पाखामा
बिरह बनि के बग्छ सधै रसीला आखामा
म टाढा हुन्न ती आखाबाट ओझेल परेर
फर्केर आउछु म हैन गा'को बसाई सरेर ।
नदेऊ बिदा, नगर साइत, नठान पराई
म कहा जाउं, मारेर माया त्यै घर नआई ।
म टाढा छैन, यो मुटु त्यही बसेको हुने छ
जननीलाई सम्झदा आसु खसेको हुने छ ।
हृदय दिने उदार मेरा हीतका दौतरी
ति बाटै भरी पर्खेर बस्ने शितल चौतारी
गुन्जन्छ सधै कानैमा तिन्ले बोलाईरहेको
देख्दछु सधै पर्खेर बाटो टोलाईरहेको ।
म जहां जाऊं जन्मेको ठाऊं आखैमा हुनेछ
झुकेर सधैं त्यो प्रीय धर्ती श्रध्दाले छुने छ ।
फर्केर फेरी धरणीलाई अंगालो हालौला
मझेरीबाट अधेरो मेट्न दियालो बालौला ।
म नदी जस्तै बगेर जान्छु पहाड फोडेर,
किनार भरी सुसेली बतास कोसेली छोडेर ।
चाडै नै यौटा अनन्त सागर भेटाई आउनेछु
जगतै लाई सिन्चने तिर्खा मेटाई आउनेछु ।
(नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा प्रथम भएको प्रतियोगी कविता)
No comments:
Post a Comment