Saturday, November 22, 2014

कविता : जिन्दगानी

~हिमाल प्र. रेग्मी~
पहाडको काखबाट शुरुभयो जिन्दगानी,
भीर, पाखा, खोल्सा, खोल्सी बग्दै गयो जिन्दगानी ।
कुईनेटोमा ठोकिएर, फाँटहरुमा पोखिएर,
खहरे र खोलो हुँदै बेंसि झर्यो जिन्दगानी ।।१।।


उकाली र ओरालीमा लडीबुडी खेल्दै, हाँस्दै,
सुख दुःख शनैः शनैः बढ्दै गयो जिन्दगानी ।
कैले माथि, कैले तल उचालिंदै पछारिंदै,
रोटेपि·को पिर्का जस्तै घुम्दै गयो जिन्दगानी ।।२।।

गमलाको फूल जस्तो सधैं हाँस्ने होईन रैछ,
बगरको काँढा पनि हुँदो रैछ जिन्दगानी ।
घाम पानी, आँधि हुरी, सिरेटो र शीत सँगै,
चौतारीको बर जस्तै तकिरह्यो जिन्दगानी ।।३।।

डढेलोमा पिल्सिएको कलकलाउँदो मुना जस्तो,
धुकधुकीमैं बाँच्दो रैछ बर्षा कुर्न जिन्दगानी ।
पहराको काप फोरि पलाएको पिपल जस्तो,
संघर्षमै हाँसि दिनु पर्ने रैछ जिन्दगानी ।।४।।

शरदको सयपत्री कान्ला कान्लै हाँसे जस्तै,
धान खेतको बयलीमा नाच्ने रैछ जिन्दगानी ।।
बसन्तको बुकि जस्तै सुवास छर्दै लेक भरि,
नागी, चउर, पाखा पाखै फुल्ने रैछ जिन्दगानी ।।५।।

हेमन्तको शीत अनि तुषारोको चपेटामा,
शीतलहर, हिउँ आँधि झेल्नै पर्ने जिन्दगानी ।
शिशिरको सिरेटोमा पात सबै झरे पनि,
बोक्रा जति खुईलिएर डाँठमात्रै रहे पनि,
बुढो चाँपको रुखले जस्तो साँच्नु पर्ने जिन्दगानी,
बसन्तको पर्खाईमा बाँच्नु पर्ने जिन्दगानी ।।६।।
(नोवेम्बर २२,२०१४ मा आयोजित 'नाफा - साहित्य साँझ २०७१'मा दोश्रो भएको प्रतियोगी कविता)

No comments:

Post a Comment