Sunday, September 16, 2018

व्यङ्ग्य कविता : प्रेसर


~लेखनाथ काफ्ले~

जता फर्क्यो त्यतै प्रेसर
दायाँ प्रेसर, बायाँ प्रेसर
यता प्रेसर, उता प्रेसर ।

तल टेक्यो धरातलको प्रेसर
माथिबाट गुरुत्वाकर्षण बलको प्रेसर
अनी जताततैबाट देख्दै नदेखिने 'हावा'को प्रेसर ।

यो हावाको नचाहिंदो प्रेसरले कहिलेकहीँ त

मगजको रसायन नै खल्बलाउने
नाथे तौलबिनाको, आकारबिनाको
तर बारम्बार चसक्क चसक्क घोचिरहने ।
छक्क पर्छु,
प्रेसर हाइ हुँदा नि प्रेसर
प्रेसर लो हुँदा नि प्रेसर
सधैँ ठ्याक्कै मिलाएर राख्नुपर्ने
स्वाद खोज्दै भौतारिने जिब्रोको
बिरुद्ध लाग्नुपर्ने
भेट्नु, छुट्टीनु केही छैन
यत्तिकै हातगोडा चलाई भाग्नुपर्ने ।

काममा बिजी धेरै हुँद कामको प्रेसर
फुर्सदिलो भैइयो, समय कटाउने प्रेसर
घर पस्यो, अनावश्यक कच्कच र बकबकको प्रेसर
चुप बस्यो, बोल्दै बोलिनस भन्ने प्रेसर
सम्बन्ध जोड्यो, जोगाइ राख्ने प्रेसर
सम्बन्ध बिग्रियो, सुधार्नलाइ प्रेसर
कहिलेकहीं त लाग्छ,
यो मगज टुटिबिनाको प्रेसरकुकर भैदिएको भए
हजारौं पटक पड्किसक्थ्यो
आत्मा आएर यसभित्र बस्दिएको भए
कैयौं पटक भट्किसक्यो
ट्रान्सफर्मर जस्तो भाँडो भए
हाइ भोल्टेजमा पारी धेरै पटक झड्किसक्थ्यो ।

इच्छा पनि कस्तो कस्तो,
चर्दै गरेको हरिणको भ्रम जस्तो
उर्लंदो खोल वारी हुँदा पारीको हरियो घाँसमा लोभिएर
पारी तरेर चरिसकेपछी, वारीको पलाएको घाँस देखेर प्रेसर ।

बुझ्दै जाँदा लाग्न थाल्यो
प्रेसर बिना त जिन्दगी चल्दैन रैछ
किनकी घरमा चुलो बल्दैन रैछ 
ठडाएको खम्बा ढल्दैन रैछ
सडकमा पाङ्ग्रा गूड्दैन रैछ
बादलमाथि यान उड्दैन रैछ ।
मात्र यसलाई सन्तुलनमा राख्नु पर्ने रैछ
बढ्दा घटाऊनु पर्ने रैछ,
घट्दा बढाउनु पर्ने रैछ ।। 


(सेप्टेम्बर १६, २०१८ का दिन भरत-अर्चना द्वा को "आशियाना"मा आयोजना भएको "२२ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment