Saturday, November 2, 2019

कविता : मन

~राजेन्द्रप्रसाद अर्याल~
                                                
चुलबुले, चञ्चले, अस्थिर छ मन
हिजो अन्तै थियो
आज कवितामा छ मन
नाप्न नसकिने, जोख्न नमिल्ने
कतै नरोकिने, कतै नथाक्ने
बिजुलीभन्दा द्रुत गतिको
वेग कसैले थाम्न नसक्ने
भण्डारण क्षमता असिमित भएको
एउटा बृहत् सन्दुक हो मन
दशौं इन्द्रियहरुको सरथी हो मन
प्राणी जगतको राजा हो मन ।

सुषुप्तिमा या जाग्रतमा
आठअक, अविराम चलिरहने
कहिले उर्लने भेल भनेर
कहिले शान्त समुन्द्र भएर
रूवाउने हसाउने मनको बानी
लीला छ यसको अपरम्पार
कृष्ण बनेर मन दायावान हुन्छ
द्रौपदीको लाज ढाक्न पुग्छ
कृष्णको उही मन पवित्र हुँदैन
वस्त्र लुकाई गोपिनिहरूको
गोप्य अङ्गको प्यासी बन्छ
असल मात्र हैन उद्धण्ड पनि छ
कहिले यो मन रामा बन्छ
कहिले रावण भाई सीता हर्छ ।

अति अनियन्त्रित अति विचलित
पथभ्रष्ट र गतिछाडा मन
बाटो बिराउँछ-पागल बन्छ
महौपधिको सेवान गराई
वसमा राख्न सक्नु पर्छ
रोकौं बरालिनबाट मनलाई
सङ्किर्ण होईन बिराट बनाऔं
सन्तुष्टिको श्रीपेच पहिरि
सम्यमताको चन्दन लगाऔं
मन बिहिन तन कस्तो होला ?
सास बेगरको लास बन्ला
मनका कतिपय गोप्यताहरू
उजागर हुँदैनन् जीवनपर्यन्त
चिता वा चिहानमा पुगेर
भष्म हुन्छन् लाससँग ।

—राजेन्द्रप्रसाद अर्याल,गोरखा बजार                                                           
हालः म्याडिसन,अमेरिका 

  
(नोवेम्बर २, २०१९  मा आयोजित 'नाफा-साहित्य साँझ २०७६'मा वाचन गरिएको अप्रतियोगी कविता) 

No comments:

Post a Comment