बिकासको सगरमाथा
टेके भन्छन् मनिस
अनुहारको फोहोर भन्दा
ऐना पुस्छन् मनिस
चर्म चक्षु सिङ्गारेर
खै कहाँ पुगिएला
मनको आँखा नखोली
जिवनको सार के होला ।
रिसरागको बाबियोले
जीवन बाट्दा बाट्दै
लोभमोहको पिरिङ्गोमा
माया साट्दा साट्दै
पुग्ने ठाउँ कता होला
अझै देखिएन
मनको आँखा खोल्ने ज्योति
अझै भेटिएन ।
जागिर होस् या राजनीति
मनकै आँखा चाहिन्छ
सत्य के हो झूटो के हो
छुट्ट्याउन पाईन्छ
तनको मात्रै आँखा हुने
हुन्छन् भ्रस्टाचारि
मनको आँखा नहुनेले
गर्छन् मनपरी ।
बाहिर आँखा सबैका छन्
जीवन बाँच्ने खेल
मनले मनलाई सम्झाएर
मन भित्र हेर
हजार झूटो बन्द गरी
एउटै सत्य बोल
मनभित्रको ननिभ्ने त्यो
दिव्य आँखा खोल
मन भित्रको ननिभ्ने त्यो
दिव्य आँखा खोल ।।
(नोवेम्बर २, २०१९ मा आयोजित 'नाफा-साहित्य साँझ २०७६' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment