~कल्पना ढकाल रिजाल~
म जन्मिंदा मेरी हजुरमाले खुसीले चिच्याउँदै
हाम्रो घरमा लक्ष्मीको बास भो भनिन् रे,
पल्लाघरे दाइ, माथिले घरे काका, तल्लाघरे मामा
सबै भेला भई सेल रोटी र चौरे तालमा रमाएका थिए रे,
अनि म कसरी नेपाली होइन त?
गुन्द्रुक, सिन्की अनि मुलाको अचारले मेरो मुख रसाउँछ
दशैं, तिहार अनि सयपत्रीले ममा खुशी ल्याउँछ
जातो, ढिकी र दाउराको भारी
देखेकी म
अनि म कसरी नेपाली होइन त?
रातो फरिया, हरियो तिलहरी र सिउँदोको सिन्दूरमा
म कति खुशी देखिन्छु
मादलको तालमा,
झ्याउरे गाना र लोक दोहारीमा रमाउने म,
कसरी नेपाली होइन त?
नेपाल र नेपालीमा दु:ख सहन नसक्ने मेरो मन ?
सगरमाथाको उचाइमा गौरव मान्ने म
रातो माटोले लिपेको घर,
हरियो गोबरले चोख्खाएको आँगन,
धानको बालाले झुलेको खेत मन पर्छ मलाई,
अनि म कसरी नेपाली होइन त?
(नोवेम्बर २, २०१९ मा आयोजित 'नाफा-साहित्य साँझ २०७६' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment