~लेखनाथ काफ्ले~
जता फर्क्यो त्यतै प्रेसर
दायाँ प्रेसर, बायाँ प्रेसर
यता प्रेसर, उता प्रेसर ।
तल टेक्यो धरातलको प्रेसर
माथिबाट गुरुत्वाकर्षण बलको प्रेसर
अनि जताततैबाट देख्दै नदेखिने 'हावा' को प्रेसर ।
यो ‘हावा’ को नचाहिंदो प्रेसरले कहिलेकहीँ त
मगजको रसायन नै खल्बलाउने
नाथे तौलबिनाको, आकारबिनाको
तर बारम्बार चसक्क चसक्क घोचिरहने ।
छक्क पर्छु,
‘प्रेसर हाइ’ हुँदा नि प्रेसर
‘प्रेसर लो’ हुँदा नि प्रेसर
सधैँ ठ्याक्कै मिलाएर राख्नुपर्ने
स्वाद खोज्दै भौतारिने जिब्रोको
बिरुद्ध लाग्नुपर्ने
भेट्नु, छुट्टिनु केही छैन
यत्तिकै हातगोडा चलाई भाग्नुपर्ने ।
काममा व्यस्त धेरै हुँदा कामको प्रेसर
फुर्सदिलो भइयो, समय कटाउने प्रेसर
घर पस्यो, अनावश्यक कच्कच र बकबकको प्रेसर
चुप बस्यो, बोल्दै बोलिनस् भन्ने प्रेसर
सम्बन्ध जोड्यो, जोगाइ राख्ने प्रेसर
सम्बन्ध बिग्रियो, सुधार्नलाई प्रेसर
कहिलेकहीं त लाग्छ,
यो मगज प्रेसरकुकर भईदिएको भए
हजारौं पटक पड्किसक्थ्यो
आत्मा आएर यसभित्र बस्दिएको भए
कैयौं पटक भट्किसक्थ्यो
ट्रान्सफर्मर जस्तो भाँडो भए
हाइ भोल्टेजमा परि धेरै पटक झड्किसक्थ्यो ।
इच्छा पनि कस्तो कस्तो,
चर्दै गरेको हरिणको भ्रम जस्तो
उर्लंदो खोला वारी हुँदा पारीको हरियो घाँसमा लोभिएर प्रेसर ।
पारी तरेर चरिसकेपछि, वारीको पलाएको घाँस देखेर प्रेसर ।
बुझ्दै जाँदा लाग्न थाल्यो
प्रेसर बिना त जिन्दगी चल्दैन रैछ
किनकी घरमा चुलो बल्दैन रैछ
ठडाएको खम्बा ढल्दैन रैछ
सडकमा पाङ्ग्रा गुड्दैन रैछ
बादलमाथि यान उड्दैन रैछ ।
मात्र यसलाई सन्तुलनमा राख्नु पर्ने रैछ
बढ्दा घटाऊनु पर्ने रैछ,
घट्दा बढाउनु पर्ने रैछ ।।
(नोवेम्बर २, २०१९ मा आयोजित 'नाफा-साहित्य साँझ २०७६' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment