~लेखनाथ काफ्ले~
नाती तिम्रो आमा र मामाहरुलाई भनिदेउ
म शून्य झैं भएकी छैन
बदलमाथि कहिल्यै नभेटिने
ठाउँमा नि म गएकी छैन
म त हावासँगै बहेर
उनिहरुलाई ममतामयी स्पर्ष दिईरहेको छु
शरीर नष्ट भएर के भयो र ?
आत्मासँगै म जीइरहेको छु ।
नाती भनिदेउ कि
म पुन: तिम्रो हजुरबुवाको काखमा आएकी छु
उनिसँगै अटूट माया फेरी लाएकी छु
बिछोडमा दु:खी छु तर एक्ली भने छैन
मृत्युसँग फेरी मैले पुनर्जन्मा पाएकी छु ।
भनिदेउ अमर कोही हुँदैन
नाशवान शरीर एकदिन सबैको मेटिने छ
एक एक गर्दै हामी फेरी पनि भेटिने छ
त्यो बेला पुन: एउटा सानो झुपडी बनाउँला
मलाई 'आमा' भन्दै तिमीहरुले फेरी पनि बोलाउला
म ममताले भरिएको च्यादर ओढाएर तिमीहरुलाई ढाकौंला
मेरा आँखाको नानी झैं बनाएर तिमीहरुलाई राखौंला ।
नाती बिन्ती भनिदेउ
म मैले संसार देखाएका आँखाहरुमा आँशु देख्न सक्दिन
मलाई सम्झिँदा गुराँस फुल्ने मुहारहरु मलिन भएको देख्न सक्दिन
सुनाइदेउ
म त आज धेरै खुशी छु
मैले रोपेको वृक्ष झाँगिएको छ
हाँगैपिच्छे सुन्दर्-सुन्दर फूलहरु फुल्दैछन्
भनिदेउ
म शून्य झैं भएकी छैन
बदलमाथि कहिल्यै नभेटिने
ठाउँमा नि म गएकी छैन
म त हावासँगै बहेर
उनिहरुलाई ममतामयी स्पर्ष दिईरहेको छु
शरीर नष्ट भएर के भयो र ?
आत्मासँगै म जीइरहेको छु ।
(जनवरी १, २०१८ का दिन दिनार-धन श्रेष्ठको निवासमा आयोजना भएको "१८ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)
No comments:
Post a Comment