Saturday, March 24, 2018

कविता : आँधी


~लेखनाथ काफ्ले~

 आँधी चलिरहयो
म पनि त्यही आँधीसँगै लम्किएँ 
आँधीलाई रोक्ने बाधकहरुलाई तर्साएँ
आँधीको जयजयकार गर्दै माँसपेशी र रक्तपिण्डहरु चपाएँ । 

आँधीले खरको छानोहरु उडायो
मक्किएका खम्बाहरु भत्कायो
त्रासमय बातावरण सबैतिर फैलाएर


छाप्रोका गाँसहरु खोस्यो र
कपडाहरु उडायो ।

आँधी चलिरहयो
म पनि त्यसैसँग लम्किएँ ।

बोधिवृक्षका हाँगाहरु भाँचेर आँधीले
आफुलाई आफै महान बनायो
भात्किएका छाप्राहरुलाई देखेर
ऊ आफै रमायो
लाशका खातहरु उब्जायो
अनी त्रासता सबैतिर फैलायो ।

आँधी चलिरहयो
म पनि त्यसैसँग लम्किएँ ।

आँधीदेखी डराएर परेवाहरु उडेनन् 
तर गिद्धहरु उसँगै बतासिए 
आँधीसँगै धुवाँको मुस्लोहरु उड्यो
अनी सिनोका गन्धहरु फैलियो
आँधीले सानो आगोको झिल्को उडाएर
सारा गाउँ जलायो
बिकासको प्रतिद्वन्दी भएर
मात्र फुटायो , भत्कायो
अनी शोकगीतहरु उब्ज्यायो ।

आँधी चलिरहयो
म पनि त्यसैसँग लम्किएँ ।

तर आँधीले राजदरबारका बलिया खम्बाहरु
भाँच्न पनि मद्दत गर्यो
सिंहदरबारका जालाहरु हटाउन
सहयोग गर्यो
भात्किएका खम्बाहरु ठड्याउँछु भन्दै
बिपरित दिशामा बहन थाल्यो
तर मात्र नयाँ शब्द लेखेको मजेत्रो उडाएर
नयाँपनको खिल्ली उडायो ।

आँधी चलिरहयो
तर म किन त्यसैसँग लम्किएँ । 


(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment