Saturday, March 24, 2018

कविता : मोजै हुन्छ

~दिनार 'रनादी'~


ईमेलको यो जमानामा पनि
थुकले खाम टाँस्दै चिठ्ठी पठाउनुको मज्जै अर्को हुन्छ
जनवरिमा गर्ने भनेको कोठे कविता कार्यक्रम
सर्दै सर्दै मार्चमा पुगेर लामो पर्खाइ पछी कविता भन्नुको मज्जै अर्को हुन्छ ।

काम बिगारेर लठ्ठी पाईन्छकी भनी सोंच्दा
गाली मात्र पाउँदाको  मज्जै अर्को हुन्छ
नराम्रो कविता सुनाउँदा पनि
दर्शक-श्रोताको ताली पाउँदा मज्जै अर्को हुन्छ ।
पिउँदिन भन्दा भन्दै कर गरेर
साथीले पिलाएको  मज्जै अर्को हुन्छ
खान्न खान्न भन्दा भन्दै
सालीले थपिदिएको मासु भात खाँदाको  मज्जै अर्को हुन्छ ।

नबोलाको ठाउँमा गएर भोज खाको
दसैंमा नयाँ लुगा लाको
रक्सी खाएर घर जाँदा
श्रीमतीले माया गरेर कपाल मुसारेको
खै के भन्नु,  मज्जै अर्को हुन्छ ।

नसोंचेको मुद्दा जितेको
डलर हालेर किनेको चिठ्ठा परेको
हाकिम हुने साईत जुरेको
कविता फुरफुर फुरेको
साँढेसातीले छाडेको
खै के भन्नु,
सोंच्दा मात्र पनि मज्जै अर्को हुन्छ ।


(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment