Saturday, March 24, 2018

कविता : धन्यवाद फेस्बुक

~सुष्मा श्रेष्ठ~

धन्यवाद फेस्बुक तिमीलाई
एउटै चिठ्ठीको इन्तजारमा
महिनौं कुरीरहनु पर्ने
समयको अन्त गरिदिएकोमा ।

धन्यवाद फेस्बुक तिमीलाई
टाढाकोलाई नजिक बनाईदिएकोमा
अतितका अन्धकारमा हराएका
सखाहरुसँग भेटवार्ता गरिदिएकोमा ।

धन्यवाद फेस्बुक तिमीलाई
दिनभरिका भागदौडबाट
केही क्षण मन शान्त पार्न
फेस्बुक चियाउँछौं हामी तिमीलाई ।

धन्यवाद फेस्बुक तिमीलाई
समय भए, सेकेण्ड सेकेण्ड, मिनेट मिनेट, घण्टौं घण्टा
आफ्नो प्रियजनसँग टँसाईदिएकोमा ।

धन्यवाद फेस्बुक तिमीलाई
पारिवारिक, सामाजिक, राजनैतिक, आर्थिक
खबर बोकी देश-बिदेशका सन्देशवाहक बनी आईदिएकोमा ।

धन्यवाद फेस्बुक तिमीलाई
मित्रवर्गलाई भलाकुसारी बाँड्ने
अनी प्रतिद्वन्दीवर्गलाई एक-अर्काको
बद्ख्वाँई गर्ने आँगन बनिदेइेकोमा
धन्यवाद फेस्बुक तिमीलाई ।। 

(मार्च २४, २०१८ का दिन राम-शुष्मा श्रेष्ठको निवासमा आयोजना भएको "१९ औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।)

No comments:

Post a Comment