Saturday, March 4, 2017

कविता : प्रार्थना

~डा. रमेश खनाल~


सुन्दर स्निग्ध बिहानीसँग
मेरो हृदयभरी फैलिएको प्रकाश
माया, प्रेम र समर्पणले
सम्पूर्ण ब्रह्माण्डलाई आलिङ्गनमा समेट्न चाहन्छ
परन्तु तिमीले रचेको अशिमइत विश्व
तिम्रो अभिव्यक्तीको अखण्ड अस्तित्व
मेरो स्थूल कायाको पारीधीभित्र कसरी अट्नु
मेरा इन्द्रियहस्रुको घेरोभित्र कसरी आउनु
न त मेरो सिमित ज्ञानद्वारा बोधगम्य नै हुन सक्नु ।


तैपनी तिम्रो तथास्तुको आसमा
तिम्रो मौन आशिर्वादको प्रतिक्षामा
अविच्छिन्न प्रार्थना गर्दै
मन, मस्तिस्क, बुद्धि, अहंकार, र चित्त भन्दा पर
कल्पनातित, र पनि तिम्रो मायारुपी संसार
स्वप्निल बन्दै निरन्तर हेरिरहेछु,
भित्र भित्रै मुस्कुराईरहेछु ।
षितल वायुको मन्द स्पर्शले
रोम रोम पुलकित भैरहेछ
मलाई थाहा छ म त्यसइमा आल्हादित छु
त्यसैको प्रकाशमा आल्हादित छु
त्यसैको चेतनले जिवन्त छु
तथापी तिमीले दिएको प्राणलाई
त्यही चिदानन्द स्वरुपलाई
आफ्नो सम्झेर दुरुपायोग गरिरहेछु
मेरो भनेर दौडिरहेछु
निरुद्देश्यपूर्वक जन्म-जन्मान्तर देखी भौतारी रहेछु
अब कसरी भनुँ तिम्रै प्रार्थना गरिरहेछु ।

रात्रीको गहन अन्धकारमा प्रवेश गर्नु अघी
या भनौं तिम्रै सपनामा रमाउनु अघी
एक पटक पुन: सम्झिने कोशीश गर्छु
जाग्रत अवस्थामा मैले गरेका कार्यहरु
कती त्रुटीपूर्ण थिए
कती विवेकहीन थिए
कती आवेशपूर्ण थिए
र कती आक्रोशपूर्ण थिए
अनी द्रविभूत हुन्छु
के म त्यही व्यक्ती हूँ ?
के म त्यही शक्ती हूँ ?
के म त्यही आत्मा हूँ ?
के म त्यही तिम्रो अंश हूँ ?
यो फरक किन ?
बिरोधआभास किन ?
यस कहालीलाग्दो प्रश्नको उत्तर खोज्न नसकी
अव्यक्त परन्तु असहनिय पीडाले
मेरो सर्वाङ्ग थर्थर काँपिरहेको हुन्छ
अनी तिम्रो शरणमा फेरी अाइपुग्छु
र डराइ डराइ प्रार्थना गर्छु
कतै तिमीले मेरो आराधानालाई
अस्विकार गरेका त होइनौं ?
कतै तिमीले मेरो हृदयको भक्तिन आवाज
कर्कष लागेर नसुनेको उपक्रम गरेको त होइनौं ?
अनी म अनायस
"त्वमेव माता च पिता त्वमेव
त्वमेव बन्धुश्चसखा त्वमेव
त्वमेव विद्या द्रविणं त्वमेव
त्वमेव सर्व मम देव देव "
गाईरहेको हुन्छु
समर्पणका अंसहरु खसाईरहेको हुन्छु
अन्त:करणदेखी प्रार्थना गरिरहेको हुन्छु । ।
- रमेश खनाल , म्याडिसन, विस्कन्सिन ।
मार्च ३, २०१७

(मार्च ४, २०१७मा राजेन्द्र-सिता अर्यालले स्वाद रेस्टौरेन्टमा आयोजना गर्नु भएको पुस्तक लोकार्पण एवम् 'नेपाली कोठे साहित्य कार्यक्रम' मा वाचन गरिएको)

No comments:

Post a Comment