Saturday, October 1, 2016

कविता : आराधना

~डा. रमेश खनाल~

मस्तिष्कले तिम्रो सम्झना गर्दा गर्दै
हृदयले तिम्रो आराधना गर्दा गर्दै
जन्म जन्मातारको द्वैधताले होला
तिम्रो अद्वैत, अपरिमित अस्तित्वको पहिचान
मेरो पन्चेन्द्रियको परिधि बाहिर रहे, बाहिरै रहे।

वेदका ऋचाहरु
मधुर संगीतको सुमधुर धुन भन्दा कर्णप्रिय रहे
तथापि मेरो आफ्नै आवाज भने
लय र ताल बिनाको मादल झैं 
कर्कश, प्रस्फुटनहीन

समर्पण, र भक्तिभाव भन्दा परै रह्यो
मलाई क्षमा गर।
मेरा हरेक सासहरु
तिम्रो पूजामा समर्पण गर्न नसक्नुको पीडा
अनि मेरा सोचहरु
तिम्रो निर्बिकल्प एकाग्रतामा
विलीन हुन नसक्नुको कष्ट
शायद मैले धेरै बोक्न बाँकि छ
र त मेरा प्रत्येक पाइलाहरु
अझै पनि तिम्रो प्रदक्षिणा गर्न नसकी
लर्खाराइ मात्र रहेछन्, मलाई क्षमा गर।
 
मेरा प्रिय शंकराचार्यको
"असंगोहम्, असंगोहम्, असंगोहम् पुन: पुन:"
अनि चार वेदका चार महावाक्यहरु
तत्वमसि, प्रज्ञानम् ब्रह्म, अहम् ब्रह्मस्मि र अयामात्मा ब्रह्म
सीमित ज्ञानको परिधि भित रहनुको लघुताभासले
मेरो असहाय अस्तित्वलाई
दिनानुदिन संकुचित गराईरहेछ, मलाई क्षमा गर।

घरि टैगोरको गीतान्जलीले आह्लादित हुन्छु
घरि तोल्सतोयको छ फुटे जमिनबाट
जीवनलाई हेर्ने कोशिश गर्छु
घरि गतिस्त्वम् गतिस्त्वम् त्वमेका भवानीले
सर्वाङ्ग भिजिसकेको हुन्छु
तथापि आफ्ना हरेक पलहरु
तिम्रो प्रासाद सम्झेर
स्वयंलाई अर्पण गर्न नसक्नुको हीनताबोधले
निरन्तर छटपटाई रहेछु, मलाई क्षमा गर।

ओमको पवित्र ध्वनि
र मन्दिरमा गुञ्जने घन्टी
एवं भक्तजनहरुको धैर्य तथा रङ्गी बिरङ्गी वस्त्रहरुको इन्द्रेणी बीच
स्वयंलाई खोज्ने क्रममा
एउटा नजानिदो भय क्रमश:
मेरो अन्तस्करणमा प्रवेश खोज्दैछ
शायद, त्यसैले हो कि 
मेरा हरेक वचनहरु
तिम्रो जय जयकारमा
रुपान्तरित हुन सकेका छैनन्, मलाई क्षमा गर।

यसर्थ मेरो अधैर्य भनेको
तिमी प्रतिको गुरुत्वाकर्षण हो
तिमी प्रतिको उत्कट चाहना हो
अनि तिमी स्वयंको आशिर्वचनको लालसा हो
ताकि मेरा हरेक स्वासहरु
तिम्रो पूजामा समर्पित होउन्
मेरा प्रत्येक पाइलाहरु
तिम्रो प्रदक्षिणामा घुमिरहुन्
क्षणभंगुर जीवनका अनमोल पलहरु
तिम्रो प्रासाद जस्तै पवित्र रहिरहुन्
र सम्पूर्ण अस्तित्व
तिम्रै मधुर संगीतमा गुञ्जिरहोस
तिम्रै विशाल आलिंगनमा अर्ध मुदित रही रहोस।

(अक्टोबर १, २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३औँ  श्रिङ्खलामा वाचन गरिएको)

No comments:

Post a Comment