थियो एक जमाना
पानसमा दीयो वालेर
निधारमा टीका थापेर
मनाउँथ्यौं जन्मदिन
सानो थियो परिवेश
सानै थियो संसार
तर मनभरि उल्लास
जन्मदिनमा गाउँभरी
ल्याउँथ्यौ तिमी वहार !
आजकाल
कस्तो आयो जमाना
केक काटेर
मैनवत्तीको शेखी झारेर
मनाउँछौ तिमी वर्थ डे
काट्नु र कसैको शेखी झार्नुमा
जन्मदिनको के साइनो छ ?
आफ्नो वर्थ डे आफैं मनाउनुमा
कुन पुरुषार्थको आभास छ ?
यसपाली तिम्रो जन्मदिन
हामी सबै मिलेर मनाए कसो होला ?
अथवा एउटा गरीव भोकोले
तिमीले दिएको एक छाक भातको कृतग्यतामा
तिम्रो जन्मदिनको गीत गाए कसो होला ?
एउटा हसहाय वृध्दले
तिम्रो सहाराको लागि
यसपाली तिम्रो जन्मदिनमा
तिमीलाई आसिक दिए कसो होला ?
तिम्रो मीठो व्यवहारका लागि
तिम्रो छिमेकीले
यसपाली तिम्रो जनन्मदिनमा
नाचगान गरे कसो होला ?
तिम्रो परोपकारी कर्मको
गौरवगाथा गाउँदै
यसपाली तिम्रो जन्मदिनमा
तिम्रो समाजले
दीपावली गरे कसो होला ?
यसपाली तिम्रो जन्मदिन
तिमी आफैंले होइन
हामी सवै मिलेर
मनाए कसो होला ?
(अक्टोबर १, २०१६ का दिनमा रमेश-मन्दिरा खनालको निवासमा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम'को १३ औँ श्रिङ्खलामा वाचन गरिएको)
No comments:
Post a Comment