सपनामा मस्त ,
आफ्नो यौवनमा मक्ख ,
सुरक्षा दिइरहेका काँडाहरुलाइ सपनाका पर्खाल ठान्छे ,
टाढा धकेल्छे ति पर्खाल ,
आफ्नालाइ पराया अनि परायालाइ आफ्ना मान्छे ,
पर बाट आएको त्यो मानवलाई आफ्नोमा गन्छे ,
उसले टपक्क टिप्छ ,
गुलाब सपना पुरा हुने आशामा निर्लिप्त भिज्छे ,
अनि त्यो मानवले एउटा नयाँ भगवानको समू त्यो गुलाब बेचिदिन्छ
आफ्ना आकांक्षा , भाकल अनि इच्छा पुरा गर्ने धोकोमा
त्यो बिहानीको सित्, खुल्ला हावामा रमेको गुलाब भगवान अनि पुजारीबाट
हरेक दिन कुल्चिईन्छ , थिचिन्छ , भोगिन्छ
बिचारी तुसारापात भएका सपना बोकेकी यस्ता कयौँ गुलाब मन्दिर भनिने त्यस कुनामा भेटिन्छ
त्यागिए पछि विछिप्त मुटु आधा जीवन र भारी शरीर बोकेर उ फर्किन्छे
फर्केर त्यो गुलाब फेरी बोटमा जोडिन सक्दैन ,
जोडिन खोजे पनि बोटले जोडिन दिदैन ,
अरू बोटहरुले त्यो ओइलाएको गुलाबलाइ फुल्न दिदैनन
बाँच्न त परको कुरा सपनामा झुल्न दिदैनन
हरेक स्वासमा प्रश्न गर्छे बिचारी गुलाब
कहाँ गल्ती थियो मेरो जो म यस्तो जीवन बाँचिरहेछु
के भुल त्यो मानवको थिएन जसले गुलाब चुडेर भगवान पुज्दै छ
मेरो मरे झैँ रहेको शरीरमा अझै जीवित आत्मा आँसुमा रुझ्दै छ
के गुलाब हुनु मेरो गल्ती हो ?
के हावामा रम्नु मेरो गल्ती हो ?
म एउटा गुलाब आज गलित-दुषित छु रे भन्छ समाज
तथापी मन, मस्तिस्क अनि मुटुमा म अझै एउटी मुस्कुराई रहेकी निश्चल गुलाबको फूल हुँ
म एउटी निश्चल गुलाब ।।
(२०१४ जनवरी – कोठे साहित्यिक भेट-घाट – भरत-अर्चना आशियाना )
No comments:
Post a Comment