Saturday, January 4, 2014

कविता : नयाँ वर्षले ग-यो कामना

~राजेन्द्रप्रसाद अर्याल~


हाम्रो आँगनीमा
वैभबताले परिपूर्ण गर्ने
शास्वत देवी लक्ष्मी बनेर आऊ
अटल शान्ति र
अहिंसाको सन्देश छर्दै

गौतम बुद्ध बनेर आऊ
आऊ सारा अन्धकार नाश गर्ने

सहस्र रोशनी बनेर आऊ
तर ....तर, दुर्भाग्य
मेरा यी  बर्षयूनी कामनाहरु
मात्र कामनामा निरन्तर सिमित रहे ।

आशाको दियो बाल्दै
धैर्यताको सगरमाथा उभ्याउँदै
हरेक नयाँ बर्षहरुमा
निरन्तर मैले कामना गरेँ
नयाँ वर्ष ! आऊ तिमी ।

अनर्थ !
स्थिति ठिक विपरीत
यो नयाँ वर्ष स्वयंले
हरेक वर्ष कामना गर्ने मसँगै
याचकको भावभङ्गिमा
उल्टै  ग-यो कामना–
ईमान्दार र उत्तरदायी बन
श्रृजनशिल कर्ममा निरन्तर जुटिरहु
अन्धकार नाशगर्ने
प्राथमिक शक्ति नै त्यही हो
अनि, पर्सादीको लालचमा
नेतागणको परिक्रमा गर्दै
वेलाईनबाट
स्वार्थको टपरी थाप्न छाड
तब मात्र तिम्रा नेतृत्व
स्वतः सुमार्गमा डोरिने छन्
सुमार्गी नेतृत्व
वर्तमानको आवश्यकता
तब मात्र तिम्ले म छेउ गर्ने
वार्षिक कामनाहरु
कामयावी हुनेछन्
कामयावी हुनेछन् ।


 गोरखाबजार
हाल, म्याडिसन,अमेरिका
जनवरी १, २०१४
    ***
(२०१४ जनवरी – कोठे साहित्यिक भेट-घाट – भरत-अर्चना आशियाना )

No comments:

Post a Comment