Saturday, January 4, 2014

कविता : सर्वोत्तम उपहार

~सीता अर्याल~


पाँच दशक पारिका हिउँदहरुमा
मेरा मनभित्रको जँघारहरुमा
एउटा चाहना पलाएको छ
आफ्ना कलकलाउँदा प्रतिरुपहरुसँग
विन्तिपत्र थमाउन मन लागेको छ ।


जब तिमी मेरा अन्तरमा प्रबेश ग-यौ
हर्ष बिभोरले म छताछुल्लिएँ
अधिक खुसी र प्रशन्नताले
सगरका अनगिन्ती ताराहरु नै
चाँदनीभन्दा विशाल देख्न थालेँ ।

टेक्यौ यस धर्तीमा पाईला तिमीले
तिम्रा मुहारमा लत्पतिएका फोहरमा
श्रीखण्डकै शुवासना पाउँथेँ म
तिमीले परित्याग गरेका मलमूत्रहरुमा
वस्नादार अत्तरको शुगन्ध भेटथेँ म
मेरो सानो घर संसार
स्वर्गभन्दा रमणिय अनुभूत हन्थ्यो ।

वढदै गए उमेर तिम्रा क्रमैले
पिठ्यूँमा पाठ्य सामग्री बोकेर
पाईला हिडदै, लडदै, लरखरिदै
गन्तब्य पाठशाला लियौ तिमीले
तिम्रै स्नेह र सहाराका खातिर
अगाडी, पछाडी हुन्थेँ  निरन्तर
जीन्दगी डो¥याउने पुल ठान्थेँ तिमीलाई ।

मुहार तिम्रो देख्दा मात्र पनि
विजयको खुसी मभित्र नाच्दथ्यो
सफलताका हर पाईलाहरुमा
निश्वार्थ, निश्वार्थ तत्पर रहेँ
तिम्रा आबस्यकता परिपुर्तीका लागि
छाला काढेरै दिन पनि तत्पर रहेँ ।

जब उच्च शिक्षार्थ मबाट टाढा भयौ
हर पल मेरा मातृत्व दुख्न थाल्यो
अर्चना, प्रार्थना केबल तिम्रै लागि
सपना, बिपना तिमी नै तिमी
विना प्रलोभन विना स्वार्थ
मैले सबै यी निरन्तर गरिरहेँ ।

आज आएर मातृत्व प्रेम
थोरै लोभी, लालची भएको छ
दुधको भाराको लागि नै ठान
याचना गर्न मन लागेको छ ।

नडराउ ! अनी हैरान नहोउ !
मलाई सुन, जबाहरात अनी रत्नको
कुनै प्रलोभन छैन रत्तिभर
सदा देख्न पाउँ हरपल खुसी तिम्रो जीवनमा
अटुट मुस्कान र उत्साह भए पुग्छ तिमीमा
केवल भरिदेउ मेरा आँचल यिनै र यस्तैले
सर्वोत्तम उपहार त्यही हुनेछ
दुधको भारा त्यत्ती नै भए पुग्छ ।
           
            ***


म्याडिसन, अमेरिका               
डिसेम्वर २५, २०१३

(२०१४ जनवरी – कोठे साहित्यिक भेट-घाट – भरत-अर्चना आशियाना )

No comments:

Post a Comment