Monday, December 31, 2018

कविता : केही भएकै छैन

~आविष्कार भारती~

 स्निग्ध देखिन्छ
शान्त देखिन्छ
नम्र भेटिन्छ
ध्यानमग्न भेटिन्छ
हँसिलो देखिन्छ
रसिलो देखिन्छ
केही नभएसरी सुस्थिर
केही हुँदै नभएसरी शान्तचित्त
परमानन्दको डुङ्गामा रमाए सरी
विलास मै छ झै देखिने
जीवन सुरम्य मनोहर चलेकै छ
आँखाहरुले उस्लाई सफल गनेकै छ
सङ्घर्षका चोइटा पन्छ्याएर अगी बढेकै छ
ओजिलो परिवार बिच तेजिलो देखिएकै छ
एउटा निष्कलङ्क पूर्ण मानवको छायाँ
एउटा निरोगी चित्ताकर्षक उत्तम काया
झ्याङ्गिएको सम्बन्धहरु
रमिरहेको समयहरु
कहीँ कतै
कहीँ कतै केही हुनै सक्दैन उस्लाई
तर ऊ
हो ऊ यो 'तर'मा
अल्झेको छ
बल्झेको छ
पिल्सेको छ
सोँचमग्न देखिने ऊ
खाली छ भित्र, बाहिर भरी भरी
हलुङ्गो छ बाहिर, भित्र भारी भारी
उर्लँदो भेलको पानी जस्तो
अटसमटस ठेलम्ठेल भएर पल पल बग्दछ
हाँसो, ओज, स्थिरता भित्र निस्सासिरहेको हुन्छ
पोखिउँ कहाँ भनी ठाउँँ खोजीरहेको हुन्छ
मौन मौनतामा चित्तको भारी बिसाइरहेको हुन्छ
निरस निस्सर हर कुरा भेटिरहेको हुन्छ
कुराका आँधीबेहेरी हुरी हुण्डरी मनमा थुनिरहेको हुन्छ
समाज बुझ्दैन उस्लाई, उस्को भित्री 'म' लाई
परिवार केही देख्दै देख्दैन, थुनिएको नयाँ 'उ'लाई
अन्धकार, निराशाको धुवाँमा उकुस्मुकुस भएर
आफु मै आँफै थुन्निएर
केही सार कहीँ नभेटेर, नदेखेर
अन्त:स्करणमा गुम्सिएको उर्जा बिस्फोट होला जस्तो हुन्छ उस्लाई
रन्थन्निएको मानस उपाय बिहिन, अर्थहिन लाग्छ उस्लाई
आँसु, मनका कुरा जम्छन् नपग्लने गरी
भन्न खोज्छ, तर सक्दैन
कहीँ कसैले ट्यप्प मुख थुन्देजस्तो
जता फर्कन्छ
उसैलाई हेरर हाँसे जस्तो
उसैको कुरा भए जस्तो
उसैको नराम्रो गाए जस्तो ठान्छ
असिमित आकाङ्छ्या, अनगिन्ती सपना
बोझ मानेर
फोर्न नसकी गुडुल्किएका कुराको भारी छोड्दै 
मुक्तीको बाटो खोज्दै
मृत्‍युको बाटो रोज्न पुग्छ ।।

 तत्पष्चात प्रश्न र अनुमानका
बिस्कुन सुकाउने छन् जनले 
किन यस्तो गरेछ ? के भएछ ?
सोधिखोजी बल्ल हुनेछ
अड्कल काटिने छ, दोष थुपारिनेछ
परिवार नै दोषी, श्रीमती दोषी,
आफु बाहेक सबै जोडीनेछ
अनी बिर्सिनेछन् समयको बहाव सँगै
तब सम्म अर्को शरीरले मनरोग बोकीसक्नेछ ।। 

*यो कविता "उत्तर अमेरीका सिमा वारी-पारी कविता गोष्ठी"मा पनि वाचन गरिएको थियो ।
 

(डिसेम्बर ३१, २०१८ का दिन हिमाल-कमला रेग्मीको निवासमा आयोजना भएको "२४औं नेपाली कोठे साहित्य कार्यक्रम"मा वाचन गरिएको ।) 

No comments:

Post a Comment