एउटा किनार जहां म सुस्ताउन सकुं, सन्तुष्ट हुन सकुं
आफू हास्दै दुनियालाई खुशी देख्नु सकुं ।
हो, म त्यही गन्तब्यको प्रतिक्षामा
हिड्दै थिएं, अलिकति भएपनि पाइला चाल्दै थिएं ।
बाटोका किनारहरू अनेक थरी कुनै हरीया, कुनै उजाड
कतै फोहोरको डङ्गुर त कतै सुन्दर बाग
पाउहरू गल्थे, थलिन्थे, कहिले ढल्थें पनि
तर पनि म हरियालीको अपेक्षामा तङ्ग्रीन्थे अनि
जुर्मुराएर उठ्थे उही गोरेटोमा हिड्न ।
बढे अघि, मन्द मन्द भएपनि पाउ चल्दै थिए
सही बाटोमा थिएं या गलत, गन्तब्यहीन
अगाडि सर्दै थिए या पछाडि धकेलिदै थिएं , अनबिज्ञ
कोही परिचित त कोही अपरिचित हस्ती
केही दिदै केही लिदै, केही सिक्दै केही सिकाउदै
लगातार यो चक्रपथमा हिड्दै छु, अझै पनि पाइला सार्दै छु ।
परिबर्तनको मार्गमा बेग चलाउदै गर्दा
बामे सर्दै गरेका ती सपनाले खुट्टा टेकेर हिड्दा
आज त्यही स्वप्न रूपी बाटोमा एउटा उदाउदो तारा गरें सृजना
त्यही लडखडाएका तर बुलन्द उठेका उर्जा बटुल्दै
सम्पूर्ण नारी भएर प्रकाश फिजाउदै छु ।
समाउने सानो हात, थाक्दा हौसला दिने त्यो मिठो हांसो
उदाश हुदा हसाउने उज्यालो अनुहार संगै
संघर्षका पाठका अवयबहरू सम्झदै
फेरि हिड्दैछु नया उर्जा लिएर, उदाउदो तारा चम्किलो बनाउन
चक्र रुपी अनबरत यात्रामा
एउटा बिशेष कारण बोकेर, सुनौलो गन्तब्यको खोजीमा ।
(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा दोश्रो भएको प्रतियोगी कविता)
No comments:
Post a Comment