~मित्र पौडेल~
छन्द : शार्दुलबीक्रिडित
नेपाली मनको सुवास गतिलो चुस्दै छ कस्ले अहो
कस्तो दिक्क छ रोम यो अपसकुन्, मेटौं नलौ दोष यो
आस्थामा अति लिन भै मुलुकमा हामी थियौं सज्जन
कस्तो घोर बिषाग्नीको चुसचुसे सल्क्यो न त्यो दुर्जन ।
जन्मे बुद्ध भनेर वीश्वभर नै जप्छौं हामी सानले
नेपाली मनमा अशान्ति छ भने, के गर्छौं त्यो मानले
के गर्ने तव रात पर्छ दिउसै तारा उदाइन् अब
यो पर्खाइ हुनेछ ब्यर्थ कि कसो हे बुद्ध आउ अब ।
आफ्नै देश सपार्ने शक्ति युगको भाग्दैछ टाढा कतै
हामी क्ष्युब्ध भएर भाइहरूमा आक्रोश पोख्छौ सधै
यस्तो धुर्त खेलेर बस्नु हुन्न अब हे, ए राष्ट्रका सेवक
फोस्रा धाक बिभेद दुर्गती हुने बानी हटाऔं अब ।
मेरो आंगन पूर्ब पश्चिम दुबै मेची र काली न हो
मेरो माथ हिमाल सुन्दर सधैं छाती तराइ छ यो
फक्रन्छौं अनि फुल्दछौं घर घरै हामी हजारौं फूल
माला सुन्दर बन्नु पर्दछ यहां झै एकताको बल ।
हाम्रा पुर्बजले गरे मुलुकको निर्माण पैल्है यहां
आफ्नै देश बिभक्तको पठनले टुक्रा नहोस है वहां
सीमा बन्द गरि अनेक बिधीको आतंकको खेलले
आफ्नैमा पनि औषधिबिहिन भै लैजान्छ रे रोगले ।
यो भौगोलिक बिभेद बोध हुन गो नेपालमा के गरी
प्यारो मित्र सहिष्णुता दिन दिनै घट्दैछ रे बेसरी
आऔं लौन हरेक बन्धुजन हो संसारमा एक हौं
नेपाली मन भावको लहरमा सद्भाव पैदा गरौं ।
(नोवेम्बर ५,२०१६ मा आयोजित 'नाफा-साहित्य साँझ २०७३' अन्तर्गतको 'बिजय मल्ल साहित्य पुरस्कार'मा वाचन गरिएको सहभागी प्रतियोगी कविता)
No comments:
Post a Comment