Saturday, July 12, 2014

कविता : आमा

~हिमाल रेग्मी~

पूजाकोठामा बलेको दियो मात्र होईनौ आमा,
चुलो र चौकोमा झल्मलाएकी दियालो पनि हौ,
निःशर्त प्रकाश छर्दछ्यौ आफू भित्र भित्रै सल्किएर ।

बगैंचाकी सुन्दर गुलाब हौ आमा,
सुवास छर्दै मुस्कुराउँछ्यौ जगमा, आफू तीखा काँडा भित्रै कोतरिएर ।

ममताकी बटवृक्ष हौ तिमी
संसारलाई छहारी बाँड्छ्यौ, आफू गृष्मको गर्मीमा हपहपी रापिएर ।


उपवनकी कल्पवृक्ष पो हौ की आमा ?
अरुकोलागि ईच्छा भोजन तुल्याउने, आफ्नो पेटमा सधैं पटुका कसेर ।

आमा ! तिमी त उर्वर फाँट पनि हौ
अरुलाई अत्र र फलरुपि अमृतै बाँड्छ्यौ, आफू शुष्क र जर्जर भएर ।

तिमी हरिया पर्वत पनि त हौ
खोला नदी कलकल बगाउँछ्यौ, आफू सिनित्तै निथारिएर ।

आमा ! सृष्टिकी अगम्य हिमशैल हौ,
अथाह जलधिको प्रवाह गराउँछ्यौ, आफू सधैं कठ्याङ्ग्रिएर ।

आमा ! तिमी सृष्टिकी महान शिल्पी हौ,
ममताको मुस्कानले झुपडीलाई सुन्दर महल तुल्याउने ।

आमा ! तिमी के मात्र होईनौ ?
तिमी नै पहिलो पाठशालाकी सर्वज्ञ गुरु हौ, सन्तानलाई खलु संसार चिनाउने ।

(२०१औं भानु जयन्ती, जुलाई १२ २०१४ - आविष्कार-अप्सरा भारतीको डेरामा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम')

No comments:

Post a Comment