Saturday, July 12, 2014

कविता : काठमाण्डौं शहर

~निरु ढुंगाना~

यो अस्तब्यस्त शहर काठमाण्डौं
आज भएको छ धुलो र धुवाँको केन्द्रबिन्दु ।
पुरिंदै गएको छ हाम्रो संस्कृति फोहोरको थुप्रोमा
रोईरहिछिन वाग्मती आज पुरिएर गन्दगीमा ।

बत्ती विना अन्धकार मात्र हैन भएको
पानी विना सुख्खा बनेको छ यो राजधानी ।

तैपनी भिडभाड र चापाचाप उस्तै छ यहाँ
लगाएको छ यो शहरले सबैलाई मोहनी ।


कोचाकोच छन् यहाँका बस्तिहरु
लाग्छ घर माथि घर उभिए जस्तो ।
नाक छोपी हिंड्दा पनि गनाउने उस्तै
लाग्छ स्वच्छ हावा कतै नभए जस्तो ।

नदीहरुको डिलडिलमा फोहोरका थुप्राहरु छन् पहाडसरी
साह्रै अन्यायमा परेको छ आज हाम्रो कान्तिपुरी नगरि ।
दयनिय अवस्थामा छन् हाम्रा कला र संस्कृति
दिनदिनै बद्लिदैछ हाम्रो प्यारो शहरको आकृति ।

गाह्रो छ राजधानी फोहोरमुक्त हुन अब
हुन्छ यहाँ सधैं हड्ताल चक्कजाम र बन्द ।
डाँको छोडेर रोइरहिछिन वाग्मती आज
उठाउँदै सारा नागरिको दुर्गन्ध ।
उठाउँदै सारा नागरिको दुर्गन्ध ।

(२०१औं भानु जयन्ती, जुलाई १२ २०१४ - आविष्कार-अप्सरा भारतीको डेरामा भएको 'नेपाली कोठे साहित्य कार्यक्रम')

No comments:

Post a Comment