Saturday, November 16, 2013

कविता : त्यो क्षण सम्झिदा

~महेन्द्र पाठक~

जब मृत्‍यु अपराजय भएर ठिङ्ग उभिन्छ
अनि तिमी भन्दैथियौ आफ्नी राम्रो ख्याल राख्नु है
जब तिमी आईसीयुको कोठरीमा तरवारले बाँधिएर
जीवनको अन्तिम पल बिताईरहेथ्यौ
अनि भन्दैथियौ
'सँधै खुशी र सुखी रहनु है'

कसरी रहुँ म खुशी, कसरी राखुँ ख्याल आफ्नो
तर तिमीले त कहिल्यै भनिनौ, तिमी भित्र कती पीडा थियो भनेर ।।


तिम्रो ममताको त खै के कुरा गरौं
तिम्रो वात्सल्यताको त खै के बखान गरौं
तिम्रो त्यो क्षण सम्झदा पनि कहाली लाग्छ
(त्यो यथार्थता पनि एउटा सपना झैं लाग्छ)-२ ।।

(तिम्रो शरीरभरि पारीएका प्वालहरु
अनि घोच्नलाई तयार गरिएका सियोहरु) - २
आईसीयुबाट क्षणक्षणमा निस्किने शवहरु
अनि भेन्टिलेटरको आततायी आवाजले तर्सिएका मेरो मनका तरंगहरु
यिनै प्वाल, सियोम शव अनि तरंगहरुका बीचमा
(तिमी थियौ मेरो पर्खाइमा, म थिएँ तिम्रो प्रतिक्षामा) - २ ।।

अचानकको बोलावट पछी
मैले मेरो जीवनमा पहिलो चोटि
आईसीयुको त्यो द्रिष्य देख्न पुगें
चार बर्ष अघिको त्यो मात्री मिलन
अनि चार दिन अघीको त्यो फोन वार्ता
सबै सपना झैं भए, पानीको फोका झैं भए ।।

मेरो होसले काम गर्न छोडिसकेको त थिएन
मैले मेरै आँखाले देखें 'आमा' तिमीलाई
तिमी पीडै पीडाको बीचमा मलाई हेरिरहेकी थियौ
आफू मृत्‍युको बाटो रोजेर पनि मलाई जीवन दिने प्रयास गरिरहेकी थियौ
आफ्नो जीवन गुमाईसकेर पनि मेरै प्रतिक्षामा बसीरहेकी थियौ
बिना धड्कन, बिना प्राण बाँचीरहेकी थियौ, मेरो प्रतिक्षामा ।।

(मैले देखें तर सुनिन तिमीले सुन्यौ तर बोलिनौ) - २
तिम्रा ईशारा नै काफी थिए
हो, तिमीले बाँच्न त सिकायौ तर आफै बाँच्ने हिम्मत गरिनौ
शायद, तिम्रो मुटु टुक्राटुक्रा भै सकेको थियो
(त्यसलाई पुन: जोड्ने प्रयास गरिनौ) - २ ।।

तिमीले मृत्‍युको मुखमा बसेर मलाई बाँच्न सिकायौ
टुक्राटुक्रा भएको तिम्रो मुटुको एउटा कुनाबाट हाँस्न सिकायौ
तर कसरी बाँचु आज, कसरी हाँसु अब,
भै रहेछ पालपलमा
अभाव त तिम्रो भएकै छ, ममता पनि खड्कीरहेछ क्षणक्षणमा
हो सारा शुन्य भएको छ आज,
अन्धकार छ जताततै
महसुश हुनै गाह्रो भै रहेछ
दैव पनि यती कठोर हुन्छ भनेर ।। 


(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा रहेको प्रतियोगी कविता)

No comments:

Post a Comment