Saturday, November 16, 2013

कविता : आमा

~अविमन पसछें~

अंश सुम्पी बास दिए
गर्भमा जीवनहरु
वात्सल्यतामा परिणत भए
प्रसवका पीडाहरु
बाँडे पनि भरिपूर्ण रहे
कोखमा मायाहरु
संतति मै खोज्न थाले
जीवनका अर्थहरु ।।


कोखाई कोखाई ख्वाई रहे
सहेर भोकहरु

बाल हठसँगै साटिदिए
आफ्न ईच्छाहरु
अन्तर आत्माले सुनिरहे
दूरका पुकारहरु
प्रतिफलमा केवल मागी रहे
तिनकै सफलताहरु ।।

जती बढ्यो त्यति टाढीए
निष्ठुरी छोराछोरीहरु
बाटो भरी बिछाई रहे
सुनसान आँखाहरु
बटुल्न सामु खोजी रहे
मुटुका टुक्राहरु
सदा सर्वदा निभाइ रहे
एकोहोरो मायाहरु ।।

कहिले तिर्न सकिन्न है
दूधका ऋणहरु
बोझ ठाने लाग्छ्न् है
बैगुनका पापहरु
धन सम्पत्ति मग्दैन है
मायाका भोकाहरु
आदरमा शिर निहुरिन्छ है
दैविय आमाहरु ।।


(नोवेम्बर १६,२०१३ मा आयोजित 'नाफा - साहित्य साँझ २०७०'मा रहेको प्रतियोगी कविता)

No comments:

Post a Comment